Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विवादले घेरिएपछि सुधन गुरूङ गृह मन्त्रालयबाट बिदा, एक महिनाभित्रै दुई मन्त्री बाहिरिँदा सरकारको छवि माथि नै प्रश्न (खास खबर)

विवादले घेरिएपछि सुधन गुरूङ गृह मन्त्रालयबाट बिदा, एक महिनाभित्रै दुई मन्त्री बाहिरिँदा सरकारको छवि माथि नै प्रश्न (खास खबर)

  • बुधवार, बैशाख ९ २०८३

  • 268
    SHARES

  • विवादले घेरिएपछि सुधन गुरूङ गृह मन्त्रालयबाट बिदा, एक महिनाभित्रै दुई मन्त्री बाहिरिँदा सरकारको छवि माथि नै प्रश्न (खास खबर)

    काठमाडौं । विवादै विवादले घेरिएपछि अन्ततः पदभार सम्हालेको २६ दिनमै सुधन गुरूङ गृह मन्त्रालयबाट बिदा हुनुपरेको छ । विवाद थेग्न नसकेपछि गुरुङले आज पदबाट राजिनामा दिन वाध्य हुनुभएको हो । गृहमन्त्रीको राजिनामा आजै स्वीकृत भएको छ ।

    चैत्र १३ गते गृहमन्त्री बन्नुभएका गुरुङले विवादास्पद शेयर कारोबारका कारण विवादमा तानिएपछि पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । गुरुङले आफूमाथि लागेका आरोपहरुमा निष्पक्ष छानविन गर्न माग समेत गर्नुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रभावशाली मन्त्रीका रूपमा रहनुभएका सुधन पदबाट राजीनामा दिने दोस्रो मन्त्री बन्नुभएको छ । यसअघि श्रममन्त्री दिपक शाहलाई प्रधानमन्त्री वालेनले बर्खास्त नै गर्नुभएको थियो ।

    यससँगै वालेन सरकार गठन भएको एक महिना नपुग्दै दुई मन्त्री बाहिरिएको तथ्यले सरकारमाथि थप दबाब सिर्जना गरेको छ ।
    पछिल्ला दिनहरूमा नागरिक स्तरबाट शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई आफूले गम्भीर रूपमा लिएको गुरुङले राजिनामाका क्रममा बताउनुभएको छ । राजीनामा दिँदै गुरुङले आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता भएको बताउनुभएको छ ।

    आफूमाथि आरोप लागेपछि मन्त्री पद जोगाउन गुरुङ पार्टी सभापति रवि लामिछानेलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पटक पटक धाउनुभएको थियो । लामिछानेसंगको लगातारको भेटपछि सुधनले आज प्रधानमन्त्री बालेन शाहलाई भेट्नुभएको थियो । वालेन संगको भेट पछि केहि समयमै सुधनको राजिनामा आएको हो ।

    गृहमन्त्री सुधन गुरुङको राजिनामा पछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिक्रिया दिएको छ । प्रश्न उठेपछि मन्त्रीले राजिनामा दिनु रास्वपाको संस्कार भएको सांसद यज्ञमणि न्यौपाने दाबी गर्नुहुन्छ ।

    सामाजिक सञ्जालबाट राजिनामाको जानकारी गराउनुभएका गुरुङको प्रतिक्रिया सुन्न मन्त्रालय वाहिर २ घण्टा कुरेका संचारकर्मीमाझ भने गुरुङ केहि बोल्दै नबोलि निस्किनु भएको थियो । उहाँले मन्त्रालयमा कर्मचारीलाई धन्यवाद दिएर निस्किनु भएको थियो ।

    सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको सेयरधनीमा गृहमन्त्री सुधनसमेत रहेको तथ्य खुलेपछि गृहमन्त्री विवदामा हुनुहुन्थयो । कतिपयले सुधनकोे राजिनामा ढिला आएको तर्क गरेका छन् । तर, सांसद न्यौपाने गृहमन्त्रीको राजिनामा आउनु ढिला नभएको तर्क गर्नुहुन्छ ।

    संसदमा रहेका प्रतिपक्षी दलहरूले एक स्वरमा मार्गप्रशस्त अर्थात् राजीनामा दिन गृहमन्त्री गुरुङलाई सुझाव दिएका थिए भने संसदीय समिति गठन गरेर छानबिन गर्न माग पनि गरेका छन् । गृहमन्त्रीको राजिनामा पछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गर्नुहुन्छ । प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर सुधन गुरुङले राम्रो गरेको टिप्पणी गर्नुभएको हो ।

    एक पछि अर्को मन्त्रीको राजिनामा आउनु प्रतिपक्षीका लागि अहिले जग हँसाई जस्तो भएको छ । प्रचण्ड सरकारमा बस्नेहरूका काम कारबाहीबाटै लक्षण राम्रो नदेखिएको टिप्पणी पनि गर्नुहुन्छ । ‘ अस्ति नेपो बेबी, नेपो किड्स, करप्सन भन्नेहरू, अब त जनताले बुझ्ने दिन छिट्टै आउँछ जस्तो लाग्या छ ।प्रचण्डले सरकारप्रति आलोचना र व्यंङग गर्नुभएको छ ।

    गृहमन्त्री सुधन गुरुङ विवादमा परेको यो पहिलोपटक भने होइन । उहाँको विवादको शृङ्खला नै छ । गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनदेखि चर्चाको शिखरमा पग्नुभएका उहाँ त्यतिबेलादेखि नै विवादको केन्द्रमा हुनुहुन्छ । जेनजी प्रदर्शनको मूख्य भूमिकामा नरहेका सुधनमाथि प्रदर्शन नै ‘हाइज्याक’ गरेको आरोप लाग्दै आएको छ ।

    जेनजी प्रदर्शनपछि उहाँले एक सार्वजनिक कार्यक्रममै ‘संविधान फाल्ने कि नफाल्ने दोधारमा छु’ भनेर दिएको टिम्पणीले पनि उहाँको आलोचना भएको थियो । विवादका बिषय आईरहदा सुधन गुरुङले गृहमन्त्रीबाट राजिनामा दिने यो कदम स्वेच्छिक हो वा प्रधानमन्त्री र पार्टी सभापतिको दबाब । तर, जे भएपनि यो सकारात्मक कुरा भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको तर्क छ ।

    सरकार बनेको एक महिना नहुदै एक मन्त्री बर्खास्तमा परे भने गृहमन्त्री नै विवादित भएर राजिनामा दिनुपरेको यो घटनाले सरकार र रास्वापालाई यतिखेर तनाव आईलागेको छ । भर्खरै रास्वपालाई ताजा जनादेश दिएर पठाएका जनताले झण्डै २ तिहाईको सरकारप्रति हेर्ने दृष्टिकोण पनि अव कस्तो हुन्छ भन्न्ने प्रश्न पनि बाँकी नै छ ।

    जान्नेलाई छान्ने भन्ने रास्वपाको नारा व्यवहारमा फेल खाएको लक्षण देखा परेको छ । जे होस् आफुमाथि प्रश्न तेर्सिएपछि राजिनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्नुभएका सुधन गुरुङको यो कदमलाई सकारात्मक रुपमै लिनुपर्छ । विपक्षी दल पनि यो घटनामा सरकारलाई गिज्याउने र खुशी हुने भन्दा पनि आगामी दिनमा खवरदारी गर्नेतर्फ लाग्नु नै उचित हुनेछ ।


    बुधवार, बैशाख ९ २०८३०८:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij