काठमाडौं । नेकपा एमालेका युवा नेता समिक् बडालले पार्टीभित्र युवाको नेतृत्वको विकास क्रमिक रुपमा भइरहेको बताउनुभएको छ । ‘नेपाली बहस कार्यक्रम’ मा पत्रकार खेम बमसँग कुराकानी उहाँले समाजमा युवा नेतृत्वको माग बढ्दो भए पनि एमालेले अनुभवी र युवा पुस्ताको संयोजनमार्फत पार्टीलाई अघि बढाउने रणनीति लिएको स्पष्ट पार्नुभएको छ ।
उहाँले पछिल्लो निर्वाचन परिणामले पार्टीभित्र समीक्षा आवश्यक भएको उल्लेख गर्दै नीति, कार्यक्रम तथा संगठनात्मक संरचना परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभयो । युवाका गुनासा सम्बोधन गर्दै पार्टीलाई पुनः सशक्त बनाउनेतर्फ एमाले केन्द्रित रहेको उहाँको भनाइ छ ।
संसदीय दलको नेताको चयनबारे उठेका आलोचनालाई स्वीकार गर्दै बडालले समाजको चासो र सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिने बताउनुभयो । उहाँले एमाले एकताबद्ध ढंगले अघि बढ्ले र युवालाई आकर्षित गर्ने निर्णय गरिने दाबी गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको कदमबारे प्रतिक्रिया दिँदै उहाँले सुकुमबासी बस्ती व्यवस्थापनमा सरकारको प्रयास सकारात्मक भए पनि मानवीय पक्षमा ध्यान दिन आग्रह गर्नुभयो ।