Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री वालेनमाथि आरोप नै आरोपको चाङ, तुजुक नदेखाउन खबरदारी ,चौतर्फी आलोचनापछि संसदीय समितिले सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमन गर्ने (खास खबर)

प्रधानमन्त्री वालेनमाथि आरोप नै आरोपको चाङ, तुजुक नदेखाउन खबरदारी ,चौतर्फी आलोचनापछि संसदीय समितिले सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमन गर्ने (खास खबर)

  • बुधवार, बैशाख २३ २०८३

  • 292
    SHARES

  • प्रधानमन्त्री वालेनमाथि आरोप नै आरोपको चाङ, तुजुक नदेखाउन खबरदारी ,चौतर्फी आलोचनापछि संसदीय समितिले  सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमन गर्ने (खास खबर)

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधिले नेपाली नागरिकलाई झस्काएको छ । डर, त्रास र भयको वातावरण बनाएको आरोप लागेको छ । सरकार गठन भएको डेढ महिना नपुग्नै सडकमा नारा लाग्न थालेको छ ।

    सुकुम्वासी बस्तीमा वालेनको डोजर चल्दा चिल्लीविल्ली भएकाहरुलाई राज्यले आपराधी जस्तो व्यवहार गरेको आरोप लागेको छ । सुकुम्वासी बस्तीबाट विस्थापित नागरिकहरूलाई न्यूनतम मानवअधिकार र आधारभूत आवश्यकता सुनिश्चित नगरी हटाइएको, उनीहरूको सम्मानजनक बसोबासको व्यवस्था नगरी अस्थायी शिविरमा राखिएको तथा राज्यले नागरिकप्रति देखाउनुपर्ने संवेदनशीलता अभाव देखिएको भन्दै मानवअधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणबाट चौतर्फी विरोध भएको छ ।

    विस्थापनको क्रममा बालबालिका, वृद्धवृद्धा, सुत्केरी आमा लगायत कमजोर समूहहरू विशेष रूपमा प्रभावित भएको, उनीहरूको स्वास्थ्य, सुरक्षा र दैनिक जीवनयापन गम्भीर संकटमा परेको भन्दै सरोकारवालाहरूले सरकारको कदमलाई अमानवीय र असंवेदनशील भएको ठहर गरेका छन् ।

    सडकदेखि सामाजिक सञ्जालसम्म राज्यको व्यवहारलाई निर्दयी, अमानवीय र असंवेदनशील भन्दै तीव्र आलोचना भइरहेको छ । सरकारसँग जनताले डराएको अनुभुति गर्नु देशकै लागि दुर्भाग्य हुने नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुषालले बताउनु भएको छ ।

    सरकारमाथि दुई तिहाइको तुजुक देखाएको आरोप पनि लागेको छ । सरकारले हतारिएको शैलीमा काम गरेको टिप्पणी भएका छन् । सुकुम्वासी बस्तीबाट बस्थापित नागरिकलाई आफ्नो देशका नागरिक नभएको जस्तो व्यवहार नगर्न खबरदारी भएका छन । वालेन सरकारलाई तुजुक नदेखाउन राजनीतिक विश्लेषक समेत रहेका भुसालले सुझाव दिनु भएको छ ।

    सुकुम्वासी बस्तीमा वालेनको डोजरले क्रुर राज्यको व्यवहार देखाएको आरोप पनि लागेको छ । नागरिकको इज्जत, मर्यादालाई ख्याल नगरी राज्य आतंक मच्चाएको आरोप प्रधानमन्त्री वालेनमाथि लागेको छ । घरबारविहीन बनाइएका नागरिकहरूलाई विकल्पबिना सडकमा ल्याउनु मानवअधिकारको ठाडो उल्लंघन भएको भन्दै प्रश्न उठाइएको छ । राज्य बर्बर हुन पाउँछ ? डेमोक्रेसिमा यस्तो राज्यको परिकल्पना गरिदैन, कांग्रेस सभापति गगन थापाले भन्नु भएको छ ।

    चौतर्फी आलोचना पछि संसदीय समितिले सुकुम्वासी बस्तीबाट विस्थापितहरु राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्ने भएको छ । उनीहरूको बसोबास तथा खानपिनको अवस्थाबारे प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले भोलि अनुगमन गर्ने भएको हो ।

    काठमाडौंका थापाथली, मनोहरा, गैरीगाउँ, बल्खु, बालाजु लगायतका सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि त्यहाँबाट विस्थापितहरूको अस्थायी बसोबासका लागि कीर्तिपुरको राधास्वामी सत्संग, भक्तपुर खरिपाटीको नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र र भक्तपुरकै कृषि विकास बैंक तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाइएको छ ।

    तर ती होल्डिङ सेन्टरहरूमा आधारभूत सेवा, सरसफाइ, स्वास्थ्य सुविधा र पर्याप्त खानेपानीको अभाव रहेको गुनासो समेत बाहिर आएको छ । विस्थापितहरुलाई राखिएको होल्डिङ सेन्टरको अनुगमनमा जान लागेको समितिका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेलले जानकारी दिनुभयो ।

    अनुगमनमा जान लागेको समितिले पत्रकारलाई नलैजाने संकेत दिएको छ । त्यतिमात्रै होइन, समितिकै सदस्यहरुलाई पूर्ण जानकारी दिइएको छैन । होल्डिङ सेन्टर सुत्केरी आमा र शिशुलाई बिजोग अवस्थामा राखिएको आरोप लागेको छ । जसलाई मिडियामार्फत बाहिर ल्याउँदा सरकारप्रति नकारात्मक दृष्टिकोण बढ्ने भन्दै प्रधानमन्त्री वालेनकै निर्देशनमा पत्रकारलाई होल्डिङ सेन्टरको समाचार संकलनमा रोक समेत लगाइएको आरोप छ ।

    यसले पारदर्शिता र उत्तरदायित्वमाथि थप प्रश्न खडा गरेको छ । सरकारले सुकुम्वासी बस्तीबाट विस्थापितहरुलाई मानविय व्यवहार गर्नुपर्ने माग चौतर्फी उठेको छ । राज्य क्रुर बन्न नहुने सुझाव दिइएको छ । दीर्घकालीन पुनस्र्थापना योजना, सम्मानजनक आवास र जीवनयापनको सुनिश्चितता नगरी गरिएको विस्थापनले सामाजिक अन्याय झन गहिरो बनाउने चेतावनी समेत दिइएको छ ।

    राज्यले पनि आफूलाई आरोपबाट मुक्त गर्न मानवियता, पारदर्शिता र जिम्मेवारी प्रदर्शन गर्नुपर्नेछ । जसले राज्यलाई नै बलियो बनाउनेछ । जनताबिनाको राज्यको कल्पना हुन सक्ला र?


    बुधवार, बैशाख २३ २०८३०८:१०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij