काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीभित्रको आन्तरिक विवाद समाधानको नजिक पुगेको बताएकी छन्। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुराकानी गर्दै उपसभापति भुसालले विशेष महाधिवेशनसम्बन्धी विवादलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले टुंग्याइसकेपछि नेताहरूबीचको संवाद सकारात्मक रूपमा अघि बढेको स्पष्ट पारेकी हुन्। विधानभन्दा माथि कोही नहुने भन्दै उनले पार्टीलाई गुट–उपगुट र भागबन्डाबाट मुक्त गर्नुपर्नेमा जोड दिएकी छन्।
पार्टीको १५औं महाधिवेशन संविधान र विधानअनुसार आगामी मंसिरभित्रै सम्पन्न गर्नुपर्ने समयसीमा रहेको उनको भनाई छ। सोही महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले अहिले देशभर डिजिटल माध्यमबाट सक्रिय सदस्यता नवीकरण र अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिएको छ। यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उपसभापति भुसालले जानकारी दिइन्। नयाँ प्रविधि र पुस्ताको मागलाई सम्बोधन गर्न तथा संगठनलाई चलायमान बनाउन डिजिटल प्रणाली महत्वपूर्ण भएको उनको भनाइ छ।
नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान उन्मुख रहेको उपसभापति भुसालको दाबीनेतृत्वले एकलौटी रूपमा पार्टी चलाउन खोजेको भन्ने आरोपलाई खण्डन गर्दै उनले १५औं महाधिवेशन सबैका लागि आन्तरिक प्रतिस्पर्धा गर्ने खुला अवसर भएको बताइन्। विधानले खुला गरेको बाटोमा सबै अटाउने र विधान पालना गर्दै अघि बढेमा पार्टी थप मजबुत हुने उहाँको भनाई छ ।