Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

युवालाई विदेश पठाउन सहज बनाउँदै बालेन सरकार,रोजगारी माग्दै जेनजी आन्दोलनका घाइतेहरू दिनहुँ मन्त्रालयमा, सरकारको आश्वासन मात्रै (खास खबर)

युवालाई विदेश पठाउन सहज बनाउँदै बालेन सरकार,रोजगारी माग्दै जेनजी आन्दोलनका घाइतेहरू दिनहुँ मन्त्रालयमा, सरकारको आश्वासन मात्रै (खास खबर)

  • शुक्रवार, बैशाख २५ २०८३

  • 272
    SHARES

  • युवालाई विदेश पठाउन सहज बनाउँदै बालेन सरकार,रोजगारी माग्दै जेनजी आन्दोलनका घाइतेहरू दिनहुँ मन्त्रालयमा, सरकारको आश्वासन मात्रै (खास खबर)

    काठमाडौं । निर्वाचनका बेला विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने, देशमै अवसर सिर्जना गर्ने र “ब्रेन ड्रेन” रोक्ने प्रतिबद्धता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार अहिले भने युवालाई विदेश जान अझ सहज बनाउनेतर्फ केन्द्रित भएको देखिएको छ ।

    स्वदेशमै रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम, उद्योग विस्तार वा उत्पादनमुखी अर्थतन्त्र निर्माणको स्पष्ट खाका अझै सार्वजनिक नभइ सरकारले वैदेशिक रोजगारीको ढोका थप फराकिलो बनाउने रणनीति अघि बढाएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अब १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन पहल गरिने बताउनुहुन्छ । उहाँले मन्त्रालयले प्रत्यक्ष पहल गर्दा सम्बन्धित देशबाट ढिलो प्रतिक्रिया आएको भन्दै अब कूटनीतिक माध्यमबाट प्रक्रिया तीव्र बनाइने जानकारी दिनुभएको हो ।

    हाल नेपालले औपचारिक रूपमा १३ देशसँग मात्र द्विपक्षीय श्रम सम्झौता गरेको भए पनि १७८ देशमा नेपाली श्रमिक पुगेको सरकारी तथ्यांक छ । यसले राज्यको प्राथमिकता अब वैदेशिक रोजगार व्यवस्थापनतर्फ बढी केन्द्रित हुन थालेको संकेत गरेको छ।

    अहिले जेनजी आन्दोलनमा घाइते भएका युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा लगातार धाईरहेका छन् । मन्त्री यादवले जेनजी युवालाई सरकारले रोजगारी दिन नसकेको स्वीकार गर्नुहुन्छ । जेनजी आन्दोलनमा घाइते भएका युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा लगातार आउने गरेको भए पनि आश्वासन दिएर मात्रै पठाउने काम भएको उहाँको भनाई छ । मन्त्रालयमा अहिले दैनिक हजारभन्दा बढी युवा रोजगार माग्न जाने गरेका छन् ।

    देशभित्र बेरोजगारी, उद्योगधन्दा बन्द हुने क्रम, कृषि क्षेत्रको गिरावट र निजी क्षेत्रको निराशाबीच सरकारले उत्पादन र उद्यम विकासभन्दा श्रम निर्यातलाई प्राथमिकता दिएको आरोप लाग्न थालेको छ । सरकारले “सुरक्षित वैदेशिक रोजगार” को नीति भने पनि आलोचकहरू भने यसलाई युवालाई देशभित्र टिकाउन नसकेको स्वीकारोक्तिका रूपमा हेर्न थालेका छन् ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी तत्कालै वैदेशिक रोजगारलाई शुन्यमा झार्न नसक्ने स्वीकार गर्नुहुन्छ ।

    वैदेशिक रोजगार प्रक्रियामा हुने आर्थिक ठगी, श्रम शोषण र गैरकानुनी बाटोबाट विदेश जाने समस्या नियन्त्रण गर्न प्रयास भइरहेको सरकारको दाबी छ । विशेषगरी महिला घरेलु श्रमिकहरू अवैध माध्यमबाट विदेश जाने गरेका कारण समस्या पर्दा राज्यले हस्तक्षेप गर्न कठिन भएको छ ।

    अहिले वैदेशिक रोजगार विभागमा परेका हजारौँ ठगीका उजुरीहरू जनशक्ति अभावका कारण अनुसन्धान हुन नसकी त्यतिकै थन्किएका छन् । वैदेशिक रोजगारसँग जोडिएका ठगी र श्रम शोषणका हजारौँ मुद्दा अनुसन्धानविहीन रहनुले राज्य संयन्त्रको कमजोर अवस्था समेत उजागर गरेको छ ।

    सरकारले “सुरक्षित वैदेशिक रोजगार” को नाममा श्रम सम्झौता विस्तारलाई प्राथमिकता दिइरहेका बेला स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता भने व्यवहारमा कमजोर देखिएको छ । बेरोजगारीले पीडित युवा, विशेषगरी जेनजी आन्दोलनका घाइतेहरू, दिनहुँ रोजगारीको माग गर्दै मन्त्रालय धाइरहे पनि उनीहरूले ठोस अवसरभन्दा आश्वासन मात्रै पाएका छन् । उद्योग, कृषि र उत्पादनमुखी क्षेत्र संकटमा परिरहेका बेला राज्यको ध्यान श्रम निर्याततर्फ केन्द्रित हुँदा सरकारले युवालाई देशभित्र टिकाउन नसकेको आलोचना चुलिएको हो ।


    शुक्रवार, बैशाख २५ २०८३०७:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij