काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टी विभाजनको संघारमा पुगेको भन्ने चर्चालाई खारेज गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै पोखरेलले १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र देखिएका बहस, छलफल र असन्तुष्टिहरु स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको बताएका हुन्। नेता पूर्णबहादुर खड्का लगायत समूहले उठाएका गुनासाहरुलाई नेतृत्वले संवाद र वार्ताकै माध्यमबाट छिट्टै समाधान गर्ने उनले दाबी गरे।
पार्टीको क्रियाशील सदस्यता नवीकरण र डिजिटलाइजेसनको विषयमा देखिएको विवादबारे स्पष्ट पार्दै नेता पोखरेलले प्रविधिको प्रयोग (एप्स र एआई) मार्फत सदस्यता अपडेट गर्नु नीतिगत रूपमा सकारात्मक कदम भएको बताए। यद्यपि, वैदेशिक रोजगारी वा मजदुरीमा रहेका कार्यकर्ताहरूको पहुँचको अभाव जस्ता व्यावहारिक कठिनाइहरूलाई ध्यानमा राख्दै पार्टी समितिले यसलाई पुनरावलोकन गर्ने उनले जानकारी दिए।
यसैगरी, बालेन नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै पोखरेलले सरकारले संस्थागत दोहोरोपन र फजुल खर्च बढाएको आरोप लगाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो शक्तिशाली संयन्त्र हुँदाहुँदै छुट्टै ’सम्पत्ति छानबिन आयोग’ गठन गर्नु कुव्यवस्थापनको कला) भएको उनको भनाइ छ। काम गर्ने इच्छाशक्ति नहुँदा आयोगमाथि आयोग बनाउने प्रवृत्ति देखिएको भन्दै उनले मौजुदा कानुन र संरचनालाई नै बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।