काठमाडौँ । नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले सहकारीको रकम अपचलन गर्नेहरूलाई कारबाही नगरेर सरकारी ढुकुटीबाट बचतकर्ताको रकम फिर्ता गर्ने गरेकोप्रति तीव्र आपत्ति जनाउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता रावलले सहकारीका वास्तविक ठगहरूलाई जेल नहाली उन्मुक्ति दिने शैलीमा सरकारले निजी स्वार्थका लागि सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।
उहाँले नेपालको विद्यमान कूटनीतिक अभ्यास र सरकारको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाउनुभएको छ। अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन परराष्ट्र मन्त्रालय नै अग्रसर र सक्रिय हुनुपर्नेमा जोड दिँदै उहाँले सरकारी संस्थागत निकायहरू चलायमान हुन नसकेको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणको प्रसङ्ग उल्लेख गर्दै रावलले नेपालको कूटनीतिक मामिलामा सम्बन्धित व्यक्तिहरू परिपक्व रूपमा प्रस्तुत हुन नसकेको बताउनुभयो । कूटनीतिमा सोझो र खुला संवाद गर्नुको साटो पर्दापछाडि खेल खेलेर निहित स्वार्थ पूरा गर्ने पुरानै राजनीतिक चरित्र फेरि पुनरावृत्ति हुन लागेको त होइन भन्दै उहाँले आशंका व्यक्त गर्नुभयो ।
यसैगरी, नेता रावलले सरकार प्रमुखको मौनता र निष्क्रियताप्रति पनि कडा आलोचना गर्नुभयो। प्रधानमन्त्री संसद्मा उपस्थित नहुनु र राष्ट्रिय हितका गम्भीर विषयहरूमा मौन रहनु निकै आश्चर्यजनक भएको उहाँको भनाइ छ। मन्त्रीहरूबाट मात्रै काम गराउने र प्रधानमन्त्री आफैँ जिम्मेवारीबाट पन्छिने हो भने पद ओगटेर बस्नुको कुनै औचित्य र तुक नरहने भन्दै रावलले आक्रोश व्यक्त गर्नुभयो। वर्तमान सरकारले कूटनीतिक र आन्तरिक सुशासन दुवै क्षेत्रमा दह्रो र कडा रूपमा प्रस्तुत हुन नसकेको दाबी उहाँले गर्नुभयो ।