काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकारले ल्याएको बजेट महत्वकांक्षी भए पनि यसको कार्यान्वयन पक्षमा गम्भीर शंका व्यक्त गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँगको संवादमा नेता महरले १४ खर्बभन्दा बढीको राजस्व संकलन र पुँजीगत खर्चको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गरेका हुन्।
बजेटमा डिजिटल नेपालको अवधारणा र सूचना प्रविधिलाई प्राथमिकता दिनु सकारात्मक भए पनि यो विगतकै जस्तो कनिका छर्ने र ’पपुलिस्ट’ मात्र भएको उनको टिप्पणी छ। विगतका सरकारले पनि वाचा पूरा गर्न नसक्दा जनतामा व्यवस्थाप्रति नै निराशा बढेको उल्लेख गर्दै उनले गफभन्दा काममा ध्यान दिन आग्रह गरे।
साथै, नेता महरले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार नियन्त्रणको नाममा पहिले थुन्ने अनि मात्र सुन्ने प्रवृत्तिले नागरिकको सामाजिक जीवनमा गम्भीर धक्का पुगेको उनले बताए। कम्बोडियाको पोलपोट र जर्मनीको हिटलरको ऐतिहासिक सन्दर्भ जोड्दै उनले जननिर्वाचित सरकार पनि बिस्तारै निरंकुश र अराजक बन्न सक्ने खतरातर्फ प्रधानमन्त्रीलाई सचेत गराए।
महरले प्रधानमन्त्रीले सबै अधिकार आफूमा केन्द्रित गरी अल इन अल बन्न खोजेको आरोप समेत लगाए। संविधान, संसद् र परम्परालाई भत्काएर देशलाई ब्ल्याक होलमा नधकेल्न चेतावनी दिँदै उनले भने, “युवाहरूको आकांक्षाबमोजिम सुशासन कायम नभए देशमा पुनः ठूलो विद्रोह हुन सक्छ।” अझै पनि सरकारले राम्रो काम गरेमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।