काठमाडौँ । राजनीतिक विश्लेषक तथा अधिवक्ता सुशील सापकोटाले राष्ट्रियता बोलीमा मात्र नभई व्यवहारमा देखिनुपर्ने जोड दिनुभएको छ । विपक्षी दलहरूले उठाएका कतिपय कदमहरू विरोधका लागि मात्र केन्द्रित भएको टिप्पणी गर्दै उहाँले संसदीय मर्यादाभित्र रहेर मात्र विरोध गर्न आग्रह गर्नुभयो ।
विश्लेषक सापकोटाका अनुसार विपक्षी दलहरूलाई संसदीय प्रस्ताव ल्याएर सरकारको विरोध गर्ने पूर्ण संवैधानिक अधिकार छ । तर, विगतका राजनीतिज्ञहरूले गरेका त्रुटीपूर्ण क्रियाकलापमाथि प्रश्न उठाउन नसक्नेहरूले अहिले केवल बोलीकै भरमा विरोध गर्नुको कुनै औचित्य नरहेको उहाँको तर्क छ ।प्रधानमन्त्रीको अभिव्यक्तिलाई जोड्दै सापकोटाले भन्नुभयो, “प्रधानमन्त्रीले आफ्नो कमजोरीमा माफी माग्नुपर्छ, तर विपक्षीहरूले पनि अब त थोरै बुद्धिमता देखाउनुपर्छ ।“विगतका राजनीतिक नेतृत्वले राष्ट्रिय हितका गम्भीर कार्यहरू हुँदा समेत ’चुइँक्क’ बोल्न नसकेको स्मरण गराउँदै उहाँले वर्तमान परराष्ट्रमन्त्रीले विगतमा उठ्न नसकेका महत्त्वपूर्ण विषयहरूलाई दह्रोसँग उठाएको दाबी गर्नुभयो । प्रधानमन्त्रीको भनाइ वा कदमप्रति विमति राख्ने अधिकार सबैलाई भएको उल्लेख गर्दै उहाँले विरोध गर्दा पनि बौद्धिक र परिपक्व शैली अपनाउन विपक्षी दलहरूलाई विशेष अनुरोध गर्नुभएको छ ।