काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
अस्तीदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले आज आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले जानकारी दिनुभयो ।
दिउसो एक बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आन्दोलनको स्वरुपमा बारेमा छलफल भइ निर्णय हुने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा विघटनसँगै सरकारले निर्वाचन समेत घोषणा गरेकाले निर्वाचनको प्रतिक्षा गर्नुभन्दा पहिला तत्काल आन्दोलन सुरु गर्ने आवाज काँग्रेसमा बलियो हुदै गएको छ ।
काँग्रेसकै केही नेताहरुले भने संसद विघटन असंवैधानिक भएपनि निर्वाचनको घोषणालाई स्वागत गर्दै उपयोग गर्नु पर्ने तर्क गरेका छन् । तर धेरै नेता तथा कार्यकर्ताहरुले भने संसद विघटन र निर्वाचनको घोषणा दुवै असंवैधानिक भएकाले स्विकार गर्न नहुने र संसद पुर्नस्थापनाका लागि आन्दोलनमा जानु पर्नेमा जोड दिने गरेका छन् ।
केन्द्रीय समितिमा बोल्ने अधिकांश नेताहरुले पनि तत्काल आन्दोलन घोषणा गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् ।