काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको बताएको छ । भारतीय मिडियाले नरेन्द्र मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेको जनमोर्चाले बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले भारतीय टेलिभिजनहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध भ्रामक, अतिरञ्जित, अनर्गल र आपत्तिजनक सामग्री प्रशारण गरेकोमा कडा विरोध पनि गरेको छ । ‘केपी शर्मा ओली र चिनियाँ राजदूतको बीचमा नक्कली कुराकानी भएको देखाइएको छ ।
नक्कली कुराकानीको रचना र प्रशारण गरिनु पत्रकारिताको नाममा अपराधिक तहको दुरुपयोग हो’, जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको छ र भारतीय मिडियाले मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेका छन् ।’
विज्ञप्तिमा भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीहरुको अस्मितामाथि प्रहार गरेको ठहरसहित सार्वभौमसत्तासम्पन्न मुलुक र जनताको लागि यो असह्य भएको उल्लेख छ । नेपालका विरुद्ध मोदीसत्ताको वास्तविक स्वरुप भारतीय मिडियाबाट छताछुल्ल भएको पनि जनमोर्चाले जनाएको छ ।