काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)को आन्तरिक विवादले अहिले उत्कर्षमा पुगेर विश्राम लिएको छ । असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठमा स्थायी कमिटीका करिब दुईतिहाई सदस्यहरुले प्रधानमन्त्री समेत रहेका पार्टीका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने भनेपछि विवाद चुलिएको हो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने भनेपनि ओलीले भने कुनैपनि पदबाट राजिनामा नदिने अडान दोहोर्याइरहेका छन् । प्रचण्ड–माधव पक्षले ओलीबाट पार्टी र देश चल्न नसक्ने निष्कर्ष निकाल्दै राजीनामा दिन दवाव दिएपनि ओली आफ्नो अडानबाट पछि हटेका छैनन् ।
सहमतिबाट अघि बढ्ने भनेर दुई अध्यक्षबीच पटक–पटक छलफल भएपनि हालसम्म सहमतिको विन्दु भेटिएको छैन । सहमति खोज्ने भनेरै स्थायी कमिटीको बैठक पनि स्थगित गरिँदै आएको छ । यस्तो गम्भीर संकटमा फसिरहेका बेला नेकपाले विन–विनका सात सुत्रहरु अघि सारेको छ ।
यी हुन् नेकपाको विन–विनका सात सुत्रहरु;
१. पार्टी वा राज्यका जिम्मेवारीहरु वितरण (कार्य विभाजन) गर्दा एक व्यक्ति एक मुख्य जिम्मेवारीलाई पार्टीको माथिदेखि तलसम्मका सम्पूर्ण कामरेडहरुमा तत्कालैदेखि दृढतापूर्वक लागू गर्ने/गराउने ।
२. ओली कामरेडका प्रधानमन्त्री र अध्यक्ष दुवै पद यो अवधिको लागि यथावत राख्दै अध्यक्ष पदलाई सही अर्थमा सम्मानित र मानार्थ बनाउने र प्रधानमन्त्री पदलाई पूर्णतः कार्यकारी बनाउने !
३. प्रचण्ड कामरेडको कार्यकारी अध्यक्ष पदलाई पनि यथावत राख्दै यसलाई पूर्ण शक्तिशाली र प्रभावकारी बनाउने ! यसैगरी शीर्ष र सबै तहका सम्पूर्ण नेताहरुका पद र जिम्मेवारीहरुलाई समेत ठोस गरी सार्थक बनाउने ।
४. पार्टीका अध्यक्षदेखि पार्टी सदस्यसम्म सबै नेता/कार्यकर्ताले पार्टीको घोषित विचार/ सिद्धान्त, लक्ष्य /उद्देश्य, कार्यक्रम/कार्ययोजना, नीति÷नियम, निर्णय/निर्देशन, विधि/अनुशासन र पद्धती/प्रकृया तथा कम्युनिष्ट नैतिकता, आचार र संस्कार/संस्कृति मुख्यतः सादा जीवन उच्च विचार, कडा परिश्रम र कठोर संघर्ष आदिको तत्काल, बेहिचक र अक्षरसः पूर्ण पालना र अवलम्बन गर्नु/गराउनुपर्ने र अब उप्रान्त सबैले आआफ्ना गुटउपगुट र पूर्व समूहहरुलाई मानसिक र व्यावहारिक रुपमा समेत पूर्णतः ध्वंस गर्नु/गराउनु पर्ने !
५. प्रधानमन्त्रीदेखि मन्त्री, सांसद आदी राज्यका सुविधायुक्त पद वा जिम्मेवारीमा एक पूर्ण अवधि काम गरेपछि अर्को अवधि पार्टीमा गर्नुपर्ने । यसरी अवसर र चुनौतीलाई पूर्णतः समानुपातिक र आलोपालो गरी कार्यविभाजन गरेर अधिकतम समान अधिकार र न्यायको ग्यारेन्टी गर्ने ! यसोगर्दा दुवै क्षेत्रका अनुभवी कामरेडहरुले एक अर्कालाई पूरै समन्वय र सहयोग गर्दै सहकार्य र सहमतिमा सत्कार्य गर्ने/गराउने !
६. पार्टी र राज्यमा प्रवेश/नियुक्ति, सरुवा/बढुवा, पदक/पुरस्कार र मानसम्मान गर्दा/गराउँदा वा घटुवा, फिर्ता, निष्कासन आदि जे गर्दा/गराउँदा पनि सम्बन्धित व्यक्तिको स्वच्छता, इमान्दारिता, वरिष्ठता, त्याग/तपस्या, बलिदान/योगदान, सकृयता/समर्पण र क्षमता/योग्यता र कृयाशीलताका साथै न्याय, समानता र गुणस्तरीयतालाई आधार बनाई निश्चित नीति, विधि र संयन्त्र बनाई पार्टी र राज्यका घोषित मूल्यमान्यता अन्तर्गत रहेर गर्ने/गराउने !
७. उपरोक्त सूत्र र सर्तहरु पालना नगर्ने/नगराउने जोसुकै सदस्य वा पदाधिकारीलाई सम्बन्धित पार्टी र कमिटीले पार्टी सदस्यताबाटै निष्कासनसम्मका उपयुक्त र प्रभावकारी कार्वाही तत्कालैदेखि गर्ने/गराउने अनि सो कार्वाहीलाई आलटालबिना शीघ्रातिशीघ्र पालना/अवलम्बन गर्नु/गराउनु पर्ने ।