Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बीपीको दैनिकी यस्तो थियो २०३३ साल पुस १६ गते

बीपीको दैनिकी यस्तो थियो २०३३ साल पुस १६ गते

विहान जयप्रकाशले विदाइ गरे
  • शेषकान्त पण्डित 
  • बिहिवार, पौष १६ २०७७

  • 1.5K
    SHARES

  • बीपीको दैनिकी यस्तो थियो २०३३ साल पुस १६ गते

    काठमाडौं । आठ वर्ष लामो निर्वासन जीवनपछि २०३३ साल पुस १६ गते बीपीले नेपाल फर्कने निर्णय लिनुभएको थियो । त्यसलाई बीपीले मेलमिलापको नीतिको नाम दिनुभएको थियो । विहान पटनाबाट आरएनएसीको विमान चढेका बीपीलाई परिवारका सदस्य र भारतीय समाजवादी आन्दोलनका नेता जयप्रकाश नारायण लगायत ठूलो समूहले विदाई गरेका थिए ।

    गणेशमानजी बीपीको यस नीतिसित सहमत हुनुहुन्थेन तर अन्तिममा उहाँले बीपीलाई साथ दिनुभयो र त्यो दिन बीपीसँगै फर्कनुभयो । बीपीलाई विदाई गर्दा धेरैका आँखा रसाएका थिए । बीपी यसबाट प्रभावित हुनुभएको थियो । बीपीप्रति देखाइएको यस खालको सद्भावबाट बीपीको मन छोएको थियो । काठमाडौँ आउनु अघिल्लो दिन मात्रै बीपी पटनामा आइपुग्नुभएको थियो र बीपीलाई भेट्नेको भीड नै लागेको थियो ।

    बीपीका साथीभाई र शुभेच्छुकले देवेन्द्रप्रसाद सिंहको घर भरिएको थियो । जयप्रकाश नारायणले ‘बीपी तपाईलाई नेपाल जानुस् स्वेदशमै बसेर प्रजातन्त्रका लागि संघर्ष गर्नुहोस् भनेका थिए । नेपाल आउनु अघि गिरिजाप्रसाद कोइरालासितको भेटमा बीपीले भन्नुभएको थियो ‘‘नयाँ राजा (बीरेन्द्र) छन् अनुभवी छैनन् । कसैले गलत बाटोमा लाग्न सल्लाह दियो भने देशकै अस्तित्व खतरामा पर्छ । त्यसैले म फर्कन्छु ।’’ बीपी फर्के पनि गिरिजाबाबु भने निर्वासनमै हुनुहुन्थ्यो ।

    काठमाडौँ पुगेपछि बीपीको भविष्य अनिश्चित छ भनेर धेरैले बीपीसित चिन्ता जाहेर गरेका थिए । बीपी पुस १६ गते काठमाडौँ फर्कने निर्णय गरेसँगै सुशीला कोइरालालाई धेरै पीडा भइरहेको थियो । बीपीको अनिश्चित भविष्यप्रति सुशीलाले धेरै चिन्ता गर्नुभएको थियो । पटनाबाट काठमाडौँ फर्कने दिन सुशीलाले बीपीलाई सानो स्वरमा मलाई माया गरेको भए जेल जानका लागि पक्कै काठमाडौँ जाने निर्णय तपाईले गर्नुहुँदैनथ्यो होला’ भन्ने कुरा गर्नुभएको रहेछ । बीपीको नेपाल फर्कने निर्णयपछि शैलजाले पनि अनौठो व्यवहार देखाएको र परिवारका अन्य सदस्य पनि निकै चिन्तित भएका रहेछन् ।

     

    नेताहरुले स्वागत गर्न पाएनन्

    बीपी चढेको विमान विमानस्थलमा उत्रदा काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराई लगायतका धेरै नेता कार्यकर्ता स्वागतका लागि हातमा फुल लिएर बसेका थिए । तर कसैले पनि बीपीलाई स्वागत त के हेर्न पनि पाएनन् । धेरैले उल्टो कुटाई खाएर फर्किएका रहेछन् । त्यो बेला जोगमेहर श्रेष्ठ गृहमन्त्री थिए । बीपीको स्वागतलाई भब्य बनाउन काँग्रेसका पाका नेता जगन्नाथ आचार्य केही दिन पहिले नै काठमाडौँ आउनुभएको थियो । तर उहाँले पनि बीपीलाई स्वागत गर्न पाउनुभएन ।

     

    साँझ बन्दी गृहमा बीपी र गणेशमानजी

    आरएनएसीको जहाज काठमाडौँ उत्रेपछि बीपी चढेको विमानलाई धावनमार्गको कुनातिर लगिन्छ । त्यहाँ बीपी, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु र खुमबहादुर खड्कालाई ओरालिन्छ । बीपीको त्यो टोलीलाई त्यहाँ बनाइएको एउटा पालमा विमानस्थलमा औपचारिकता पूरा गरिन्छ । त्यसपछि शैलजा आचार्यलाई अलगै जीपमा राखिन्छ । उनी हात हल्लाएर नेताहरुसित विदावादी हुन्छिन् ।

    बीपी र गणेशमानजीलाई अलगै जीपमा सुन्दरीजल बन्दी गृहमा पुर्‍याइन्छ । बीपीलाई त्यसपछि सेनाको जिम्मा लगाइन्छ । कार्यकर्ताको स्वागत नपाएका बीपीलाई सेनाले स्वागत गरेर बन्दीगृहमा पुर्‍याउँछन् । बीपी निचोडमा लेख्नुहुन्छ – ‘इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार र त्यहाँको अन्योलपूर्ण वातावरणबाट मुक्त भएकोले मलाई हलुङ्गो भइरहेको छ । त्यतिबेला भारतमा इन्दिरा गान्धीले संकटकाल लगाइकी थिइन् ।

     

    बीपी आउने भएपछि

    बीपीले मेलमिलापको नीति लिएर स्वदेश आएपछि तत्कालीन प्रम तुलसी गिरीले देशदोह्री बीपीलाई कानुन बमोजिम कारवाही गरिने जानकारी पोखरामा आयोजित एक पञ्च र्‍यालीमार्फत सार्वजनिक गरेका थिए । पूर्व प्रम सूर्यबहादुर थापाले धनकुटा पुगेर बीपीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।

     

    विभिन्न स्रोत तथा सामग्रीको सहयोगमा तयार पारिएको ।


    बिहिवार, पौष १६ २०७७०८:२६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij