काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न विमानस्थलमा नजाने भएका छन् ।
प्रचण्ड–माधव पक्षका नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक कदम चाल्ने ओलीलाई स्वागत गर्न कोही नजाने बताउनुभयो ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा विभाजनमा प्रचण्ड–माधव समूहमा हुनुहुन्छ । प्रचण्ड–माधव समूहले ओलीलाई लक्षित गरी प्रदर्शन गर्ने योजना बनाएका छन् ।
ओली समूहले आमसभा भने पनि कार्यक्रममा दुई हजार मान्छे पनि नआउने सोडारीको दाबी छ ।
यसअघि उद्योगमन्त्री लेखराज भट्ट धनगढी जाँदा पनि मुख्यमन्त्री भट्ट उनको स्वागतमा जानुभएको थिएन पछि भट्टले सार्वजनिक रूपमै मुख्यमन्त्रीले आफूलाई स्वागत नगरेको बताउनुभएको थियो ।
प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुन धनगढी जान लाग्नुभएको हो ।
प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । हुस्सु र कुहिरोका कारण उहाँको उडान भने डिले भएको छ ।