काठमाडौं । बिहीबार राति खसेको पहिरोमा परी म्याग्दीमा बेपत्ता भएकामध्ये २० जनाको शव भेटिएको छ । नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको हो भने हिजो साँझसम्म ३ जनाको शव भेटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अहिलेसम्म २० जनाको शव फेला परेको र १३ जना अझै पनि बेपत्ता रहेको बताउनुभयो । आज मौसममा सुधार आएकाले २ वटै हेलिकोप्टर सहजै घटनास्थलमा जान सक्दा उद्धार कार्य तीव्र रूपमा भइरहेको तर मृतकहरू कुन–कुन स्थानीय तहका हुन भनेर यकिन भने गरी नसकिएको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरका अनुसार म्याग्दी सदरमुकाम बेनीबाट उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली स्थल मार्ग हुँदै घटनास्थलमा पुगेको छ भने सशस्त्र प्रहरीको टोली बाटोमै रहेको छ । हेलिकोप्टरबाट ठुलो सङ्ख्यामा सुरक्षाकर्मी जान नसकेका कारण स्थल मार्ग हुँदै गइरहेको टोली पुगेपछि उद्धार कार्य अझै तीव्र बन्ने डिएसपी कुँवरले बताउनुभयो ।