काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनुभएको छ ।
राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार–विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्क्रमण सामना गर्न सहज हुने बताउनुभयो ।
उहाँको सन्देशमा हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दाे र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गर्नुभयो ।
नेपालमा वि.सं.२०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।