काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पालिकाभित्र अहिले संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको बताउनुभएको छ । विगतमा सामुयिक विद्यालयको अवस्था लथालिङ्ग हुँदा संख्या न्यून हुने गरेको भएपनि अहिले उल्लेख्य रुपमा विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गरिएपछि सामुदायिक विद्यालयमा नै विद्यार्थीको चाप बढेको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सकार’मा कुराकानी गर्दै नगरप्रमुख कार्कीले भन्नुभयो, ‘हामी निर्वाचित भएर आइसेपछि शैक्षिक क्षेत्रमा ठूलो परिवर्तन आएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले हामीले हरेक विद्यालयलाई ल्यापटप, प्रोजेक्टर उपलब्ध गराउनेदेखि ल्यावहरु स्थापना गर्ने काम गरेका छौं, भने शिक्षकहरुलाई समेत तालिम प्रदान गरिएको छ ।’
अहिले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयप्रति कोही अभिभावको गुनासो नरहेको कार्कीको दाबी छ । विद्यार्थीको एक नम्बर रोजाइको शिक्षा ‘सरकारी शिक्षा’ बनाउने उद्देश्यले आफूहरु लागिपरेको प्रमुख कार्कीले बताउनुभयो । तर संघीय सरकारले अहिलेसम्म पनि शिक्षा नियमावली ल्याउन नसक्दा समस्या भएको उहाँले बताउनुभयो ।
‘संघीय सरकारले साढे दुई वर्ष वितिसक्दा पनि शिक्षा नियमावली ल्याउन सकेको छैन ।’ नगर प्रमुख कार्कीले भन्नुभयो, ‘शिक्षा मन्त्रालयले नियमावली छिटो ल्याउन सक्यो भने हरेक विद्यालयमा कुशल प्रशासक हुन्थे । एउटा कुशल प्रशासकको कारणले पनि ५० प्रतिशत सुधार हुने थियो ।’ साथै प्रमुख कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अबिलम्व शिक्षा नियमावली ल्याउन आग्रह गर्नुभएको छ ।