काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको जिकिर गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाको ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन।’
उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो। अरुलाई त देखेको पनि छैन, शायद चिनेको पनि छैन।’
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो। रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा गर्नुस् भन्दै रोकेका थिए।
प्रधानमन्त्रीले भने, ‘ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिल्यै भेटेको पनि छैन। यसपल्ट मात्रै होइन, कहिल्यै पनि सायद भेटेको छैन। सपना प्रधान मल्ललाई मैले भेटेको थिएँ, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएका बेला। त्यो पनि सार्वजनिक कार्यक्रममा। व्यक्तिगत भेटघाट कहिल्यै भएको छैन। अरु न्यायाधीशहरुलाई मैले देखेको पनि छैन। सायद चिनेको पनि छैन। हिजो सर्वोच्च अदालतले खण्डन गरिसक्यो।’