काठमाडौं । अरुलाई मास्क लगाउँदा माजकको बिषमा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः आफूले पनि लगाएका छन् । कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा उननले पहिलोपटक मास्क लगाएका हुन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका थिए ।
जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । उनले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक नेता जो विडेनले मुखौटो लगाएर हिँडेको भनेर मजाकसमेत उडाएका थिए ।
तर शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उनले मास्क लगाउनु राम्रो कुरा भएको बताए । ट्रम्पले मास्क लगाएपछि प्रतिक्रिया दिँदै आफू कहिल्यै पनि मास्कको विपक्षमा नरहेको तर यसको पनि समय र स्थान हुन्छ भनेका छन् ।
यसअघि ट्रम्पले सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क नलगाउने बताएका थिए । तर शनिबार उनी कालो मास्कमा देखिएका थिए । अस्पतालमा उनले सैनिकहरुसँग भेटघाट गरेका थिए ।