काठमाडौं । भारतको उत्तराखण्डबाट सलह पुुनः नेपाल प्रवेश गर्ने जोखिम बढेको छ । हावाको वेग पश्चिमबाट पूर्वतर्फ चलेकाले यो सम्भावना बढेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो ।
यस्तै दक्षिणबाट उत्तर हावाको गति गए उत्तर प्रदेशको बिहारबाट पनि नयाँ सलह भित्रने जोखिम देखिएको उहाँले बताउनुभयो । नेपालका विभिन्न जिल्ला हुँदै उत्तराखण्डतर्फ गएको सलह हावाका कारण पुनः नेपाल फर्किएर दाङको राप्ती किनारमा बसेको सुवेदीको भनाइ छ ।
हालसम्म करिब ९० लाखको संख्यामा सलह प्रवेश गरेको अनुमान गरिएको सुवेदीले बताउनुभयो । रूपन्देहीमा एकैपटक करिब २५ लाखको संख्यामा सहल आएको र त्यसअघि सानो सानो झुन्डमा पनि आएको थियो । पाँचवटा ठाउँबाट आएको कुल सलह करिब ८०–९० लाख रहेका अनुमान गरिएको सुवेदीको भनाइ छ ।
सानो सानो संख्यामा रहेको सलह जता हावाको बहाव छ त्यतै जाने उहाँले बताउनुभयो ।