काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले केही मानिसहरू प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराइरहेको टिप्पणी गरेका छन्।
यसरी कराउने मान्छेहरू संविधान विरोधी, लोकतन्त्र र देश विरोधी रहेको ओलीले बताए।
संसद जागिर खाने थलो नभएको ओलीको भनाइ छ।
‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने? सांसद भनेको जागिर हो? पाँच वर्ष जागिर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ,’ उनले भने।
ओलीले आफू तानाशाह नभएको पनि बताए।
‘मैले आफ्नो हातमा लिएको छैन। लिएको भए पो तानाशाही हुन्थ्यो। जनताले फैसला गर्ने भनेपछि म तानाशाह होइन,’ उनले भने, ‘जनताका बीचमा जाम्। मेरो र अरूका काम के भयो जनताले नै मूल्यांकन गर्छन्।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपाङ्गता भएको व्यक्ति भएको बताए ।
‘म पनि थोरैथोरै अपाङ्गता भएको मान्छे हुँ । मेरो पनि किड्नी फेल भएपछि अर्को जोडेर राखेको छु । म पनि अर्को किड्नीको ह्विलचियर चढेर हिँडेको मान्छे हुँ । त्यो पनि फेल भयो । फेरि अर्को किड्नीको बैशाखी टेकेर हिँडेको छु,’ उनले अघि भने, ‘आँखामा मैले चश्मा किन लगाएको? यदि लगाइन भने पढ्न सक्दिनँ । त्यो पनि अपाङ्गता नै हो ।’
किड्नी फेरेर पनि बाँच्न सकिन्छ, काम गर्न सकिन्छ भन्ने आत्मविश्वास आफूले देखाएको उनले बताए ।
उनले अघि भने, ‘शायद यो पनि विश्व रेकर्ड नै होला, दुइटा किड्नी फेरेको कोही प्रधानमन्त्री छैन होला ।’