काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि प्रमाणित गर्ने विषयलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्नुभएको छ । रामको जन्मभूमि चितवनको अयोध्यापुरी भएको प्रमाणित गर्न प्रचण्डले आफूलाई चुनौती दिएकोप्रति कटाक्ष गर्दै ओलीले रामको जन्मभूमि अयोध्यापुरी भएको प्रमाणित गरिदिन आफू त्यसबेलाको सुँडेनी नभएको बताउनुभएको हो ।
प्रचण्डले गत माघको २८ गते भगवान् रामको जन्म अयोध्यापुरी भएको पुरातात्विक अन्वषेणबाट प्रमाणित गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभएको थियो ।
‘केही दिन अगाडि एकजना मान्छे (प्रचण्ड)ले भनेछन्, अयोध्यापुरीमा रामको जन्म भएको प्रमाणि हुनप¥यो । बढो गाह्रो प्रश्न छ । अब म त्यसबेलाको सुँडेनी हुनुप¥यो ?’, प्रधानमन्त्री ओलीले आज बुटवलमा केवलकार उद्घाटन गर्दै प्रतिप्रश्न गर्नुभयो ।
सो अवसरमा उहाँले संसारमा अरू ठाउँ कहिँ पनि भगवान् रामको जन्म भनेर प्रमाणित नभएकोसमेत बताउनुभयो ।