काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । आज बैठकमा आफ्ना धारणा राख्ने पाँचजना स्थायी समिति सदस्य मध्ये चारजनाले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । पाँचजना सदस्यले बोलिसकेपछि स्थायी समितिको बैठक भोलि बिहान सम्मका लागि स्थगित भएको छ ।
आफूमाथि बढिरहेको राजीनामाको दबाबबाट मुक्त हुने रणनीति स्वरुप अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गर्न लगाएको चर्चा भइरहेको छ । तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेस सांसदको निधन भएकोमा शोक प्रस्ताव पारित गर्न संसद बैठकमा सहभागी हुनुपर्ने भएकोले आजका लागि बैठक स्थगित भएको सञ्चारकर्मीहरुमाँझ जानकारी दिनुभयो ।
स्थायी कमिटि बैठकअघि आज बिहानै प्रधानमन्त्री ओलीले मन्त्री समेत रहेका केही स्थायी कमिटि सदस्यहरुलाई बोलाएर आफूलाई कर्नरमा पारिएकोले सहयोग गर्न आग्रह गरेका थिए । तर बैठकमा प्रधानमन्त्री ओलीले आफूले चाल्न थालेको कदमबारे केही जानकारी नदिएको नेताहरुले बताएका छन् । ओलीले बोलाएपछि छलफलमा सहभागी हुनुभएका मन्त्री योगेश भट्टराईले आफूहरुले पार्टीकोे विवाद मिलाउन आग्रह गरेको जानकारी दिनुभयो । पार्टी एकताका पक्षमा आवश्यक परे पद त्याग गर्न पनि आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्रीलाई गराएको बताउँदै भट्टराईले एकताबाट भाग्ने छुट कसैलाई पनि नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन चलखेल गरिरहेको र त्यसमा मुलुक भित्रैका केही नेताहरु पनि सक्रियताका साथ लागिरहेको बताएपछि नेकपाभित्र ओली घेराबन्दीमा पर्नुभएको हो । आफूहरुलाई भारतीय एजेन्टका रुपमा ओलीले व्याख्या गरेको भन्दै पार्टीका शीर्ष नेताहरुले नै ओलीलाई जसरी पनि हटाउने रणनीति लिएका छन् । तर ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर मुलुकको राष्ट्रिय एकतालाई कमजोर पार्न नहुने बताउनुभयो । सिंगो मुलुक एक रहेको सन्देश दिनुपर्ने बेलामा सत्तारुढ पार्टीभित्र नै विवाद छताछुल्ल भएर पोखिनु मुलुकका लागि हितकर नहुने उहाँले बताउनुभयो ।
प्रचण्ड माधव नेपाल पक्षले राजीनामा मागिरहेका बेला प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग सत्ता जोगाउने प्रयासका लागि निरन्तर परामर्श गरिरहनुभएको छ । प्रधानमन्त्रीले पार्टीका नेताहरुसहित राष्ट्रपति भण्डारीसँग पनि निरन्तर परामर्श गरिरहेको विषयलाई राजनीतिक महत्वका साथ हेरिएको छ । तर विपक्षी दलहरु, सत्तापक्ष र नागरिक समाजका अगुवाहरु समेत ओली सरकारसँग सन्तुष्ट छैनन । नागरिक समाजका अगुवा सुन्दरमणि दिक्षितले ओली सत्तामा रहिरहे नेपाली जनताले अझ बढी दुःख पाउने भन्दै उहाँलाई पदबाट हटाउन ढिलो भइसकेको टिप्पणी गर्नुभयो ।
राजनीतिक विश्लेषक लोकराज बरालले पनि ओली पार्टी र सरकारमा असफल भइसकेको टिप्पणी गर्नुभयो । पार्टीभित्रको पछिल्लो विवाद ओली सत्ता अवशानको संकेत रहेको उहाँले बताउनुभयो । ओली आफ्नै कारण संकटमा परेको बताउँदै बरालले सत्ता टिकाउन राष्ट्रपतिसँग निरन्तर परामर्शमा रहे पनि त्यसले सार्थकता पाउने अवस्था नदेखिएको बताउनुभयो ।
पार्टी भित्र र बाहिरबाट चर्काे गरी राजीनामा माग भइरहे पनि ओलीले तत्काल राजीनामा दिइहाल्ने मनस्थितिमा नरहेको उहाँको पछिल्ला राजनीतिक दौडधुपले बताइरहेको छ । पार्टीका नेताहरुले चाहँदैमा पनि ओलीलाई सत्ताच्यूत गर्न सजिलो नरहेको कानुनका जानकारहरु बताउँछन् । संविधानविद भीमार्जुन आयार्चले पार्टीभित्रका नेताहरुले राजीनामा माग्दैमा प्रधानमन्त्रीले पद त्याग गरिहाल्नुपर्ने व्यवस्था संविधान र कानुनमा नरहेको जानकारी दिनुभयो ।
नेकपाका विवाद बढ्दै गएपछि धेरैले पार्टी फुट्न सक्ने अनुमान गरिरहेका छन् । पार्टी फुटाउनकै लागि ओलीले राष्ट्रपति लगायतसँग निरन्तर परामर्श गरिहरेको आकँलन गरिएको छ । तर राजनीतिक विश्लेशक बरालले तत्काल पार्टी फुटिहाल्छ भन्न नसकिने बताउनसभयो । ओली अहंकारका कारण पनि अहिलेको अवस्था सृजना भएको दाबी गर्दै उहाँले यसकै कारण पार्टी फुटमै जाने कुरा भन्न नसकिने बताउनुभयो ।
नेकपामा प्रधानमन्त्रीको राजीनामाको विषयले पार्टी फुटको अवस्था सृजना भएको यो पहिलो पटक होइन । यसअघि ओलीलाई हटाउन र कायमै राख्न भन्दै दुवै पक्षका सांसदहरुबीच हस्ताक्षर अभियान चलेको थियो । त्यतिबेला चिनियाँ राजदूतको प्रत्यक्ष हस्तक्षेपमा ओलीको राजीनामाको विषयलाई मत्थर पारिएको राजनीतिक चिन्तकहरुको दाबी छ । तर अहिले भारतले हटाउन खोजेको प्रधानमन्त्रीको दाबीले सृजना गरेको विवाद त्यसै समाधान भइहाल्ने छाँट देखिएको छैन । सत्ता टिकाउन ओलीले चाल्न सक्ने आगामी कदमलाई गम्भीर चासोका साथ प्रतिक्षा गरिएको छ ।