काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनालिसिस’को हवाला दिँदै प्रधानमन्त्रीबारे आएका स्विस बैंकमा पैसा भएको समाचार भ्रामक, गलत र चरित्रहत्या गर्ने खालको भएको बताउनुभएको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले ‘ग्लोबल वाच एनालिसिस’को हवाला दिँदै केही नेपाली अनलाइनहरुले प्रधानमन्त्रीको बारेमा गैरजिम्मेवारपूर्ण तथा बदनियतपूर्ण सामग्री सम्प्रेषण गरेको दावी गर्नुभएको छ । स्विस बैंकको खातामा प्रधानमन्त्री ओलीको नाममा ५.५ मिलियन अमेरिकी डलर रहेको व्यहोरासहित प्रकाशित रिपोर्टहरु शतप्रतिशत गलत र कपोलकल्पित रहेको थापाको भनाई छ ।
थापाले विज्ञप्तिमा जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक भएको बताउनुभएको छ ।
राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेको बेला बदनाम गराउन अनेक तत्वहरु सक्रिय रहेको पनि थापाले बताउनुभएको छ ।
सल्लाहकार थापाले केही सञ्चार माध्यमले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्य गरेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरोकारवाला निकायसँग माग गर्नुभएको छ ।