काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले राष्ट्रिय महिला आयोगमा तत्काल अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । लामो समयदेखि पदाधिकारीविहिन रहेको यस आयोगमा शिघ्र पदाधिकारी नियुक्त गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
पदाधिकारी नियुक्ति नहुँदा नीतिगत कामहरु समेत गर्न समस्या भएकाले उल्लेख गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।
यसका लागि आवश्यक समन्वय गर्न समितिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन समेत दिएको छ । लैगिंक समानता, महिला सशक्तिरण एवं लैगिंक न्यायको लागि बहुआयामिक दृष्टिकोणबाट कार्यसम्पादन गर्नुपर्ने भएपनि पदाधिकारी अभावमा सो काम हुन नसकेको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।
महिलाहरु घरेलु काममा व्यस्त भएपनि श्रम मूल्यको गणना नगरिनु न्यासंगत नभएका ठहर गर्दै समितिले घरेलु श्रमको मूल्यलाई मापन गरी राष्ट्रिय आयमा महिलाको योगदानको गणना र कुल ग्राहस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन पनि सरकार, महिला, बालकाल मन्त्रालय, राष्ट्रिय महिला आयोग र केन्द्रीय तथ्याङ्क विभागलाई निर्देशन दिएको छ ।