काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ दल नेकपाको धारणा मागेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न नमिल्ने भन्दै कांग्रेसले पछिल्लो अभिव्यक्तिबारे सरकार र नेकपाको धारणा माग गरेको हो । प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने नेकपाको बिषय भएको कांग्रेसको भनाई छ ।
प्रवक्ता शर्माको वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्य भएको छ ।’ प्रधानमन्त्री ओलीले श्रीराम भारतीय नभएको र अयोध्या पर्साको ठोरीमा पर्ने अभिव्यक्ति दिएका थिए । यसको चौतर्फी आलोचना भएको छ ।