काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्विट गरी मुस्कानले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिनुभएको हो ।
‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने घोषणा गरिएकोमा उहाँलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद’, राष्ट्रपति भण्डारीले ट्विटरमा लेख्नुभएको छ ।
अमेरिकी विदेश मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कानलाई दिनेबारे बिहीबार नेपालस्थित अमेरिकी दूतावासले जानकारी गराएको थियो ।
तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि यो पुरस्कार दिन लागिएको हो । ८ मार्चमा एक भर्चुअल पुरस्कार समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कन सहभागी हुनेछन् । यो पुरस्कार पाउने मुस्कान अहिलेसम्मकै कम उमेरकी महिला हुनुहुन्छ ।
२०७६ भदौमा वीरगञ्जकी मुस्कान भर्खर १५ वर्षकी हुनुहुन्थ्यो । त्यतिखेर एक किशोरले प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा उहाँमाथि तेजाब आक्रमण गरेका थिए । करिब सात महिना अस्पतालमा उपचारपछि उहाँको अनुहार निको भए पनि पहिलेजस्तो हुन सकेन । तर मुस्कानले हार मान्नुभएन । आफूमाथिको ज्यादतीविरूद्ध लड्दै अरू कयौँ यस्तै हिंसाका दोषीलाइ कारवाहीको व्यवस्थाका लागि पैरवी गरिहनुभयो ।
