काठमाडौं । पर्साकी मुस्कान खातुनलाई अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिएको छ ।
एसिड आक्रमणमा परेकी मुस्कानलाई गएराति भर्चुअल कार्यक्रममार्फत पुरस्कार प्रदान गरिएको छ ।
गएराति आयोजित भर्चुअल कार्यक्रममार्फत अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कान खातुनलाई पुरस्कृत गरिएको औपचारिक घोषणा गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारको औपचारिक घोषणा हुनु अघि पत्रकारसँगको भेटघाटमा मुस्कानले एसिड आक्रमणका कारण अनुहारमा बसेको दागलाई चोटको रुपमा नभएर शक्तिको प्रतीक बनाएर अगाडि बढ्ने बताएकी थिइन् ।
एसिड आक्रमण अन्त्यका लागि लक्षित कार्यका लागि उनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा मुस्कानले पुरस्कार व्यक्तिगत रुपमा नभएर सबै नेपालीले प्राप्त गरेको बताएकी छन् ।
शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस तथा नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दै आएको छ ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले पर्सा वीरगञ्जकी मुस्कानलाई २०७६ साल भदौमा एसिड आक्रमण गरेका थिए ।