एजेन्सी । म्यानमारमा सैन्य ‘कू’ विरुद्ध जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट आज सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ ।
गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि आन्दोलन चर्कदैं गएको छ । हिजोमात्र सुरक्षाकर्मीको गोली लागि कम्तिमा ५० जनाको मृत्यु भएको थियो ।
नजरबन्दमा राखिएकी नेत्री आङ सान सूचीलाई अदालतमा पेश गर्ने तालिका भएको एक दिनअघि अहिलेसम्मकै ठूलो रक्तपात भएको हो । तर सूचीलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको जनाइएको छ ।
प्रदर्शनकारीहरुले नेतृ सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइ र प्रजातन्त्र पूनर्वहालीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
सेनाले निर्वाचनमा धांधली भएको आरोप लगाउंदै कू गरेको हो । तर त्यहांको निर्वाचन आयोगले भने धांधलीको कुनै प्रमाण नभेटिएको जनाएको छ ।