काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको सम्भावनामा पनि पर्खाल लगाईरहेको आरोप लगाउनुभएको छ ।
ओलीले पार्टीको विधान र नियमविपरित एकपछि अर्को निर्णय गर्दै पार्टी एकताको सम्भावनामाथि पर्खाल लगाईरहेको उहाँले दावी गर्नुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले बालुवाटारमा बसेर मनलाग्दी निर्णय गर्दै ओलीले एमाले पार्टी विभाजित गर्न चाहेको टिप्पणी पनि गर्नुभयो ।
एमालेलाई छिन्नभिन्न पार्न खोज्ने ओलीका विखण्डनकारी कदमविरुद्ध देशभर संगठित हुने उहाँले स्पष्ट पार्नुभएको छ । ओली फागुन २८ गतेको निर्णयबाट पछि हटेपछि मात्र अब एकता सम्भव रहेको नेता ज्ञवालीको भनाइ छ ।
पार्टी र मुलुक संचालन गर्ने ओलीको तरिका स्वेच्छाचारी रहेको बताउदैँ उहाँले यस्तो परिस्थितीमा एकताको सम्भावना नरहेको जिकिर गर्नुभएको छ ।