काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भारत बसाइलाई सहज बनाएकोमा भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्नुभएको छ । भारत भ्रमणपछि आइतबार स्वदेश फर्किएका पूर्वराजाले आज एक विज्ञप्ति जारी गर्दै आभार व्यक्त गर्नुभएको हो ।
साथै, पूर्वराजा शाहले भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कदा बिभिन्न संघसंस्था तथा सर्वसाधारणबाट दर्साइएको स्वागत सम्मानका निम्ति पनि आभार प्रकट गर्दै धन्यबाद दिनुभएको छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ
निरञ्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा हामी पवित्र तीर्थस्थल हरिद्वारमा हरेक १२ बर्षमा सम्पन्न हुने महाकुम्भ मेला अनुष्ठानमा सहभागी भएर स्वदेश फर्केका छौ ।
हाम्रो यो महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो बिशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति निरञ्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीमा तथा समस्त सन्त महात्माहरूमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।
महाकुम्भमा शाही स्नान र गंगा आरतीको बिशेष प्रबन्ध मिलाउन अखाडा परिषदले लिएको दायित्व आफैंमा अविस्मरणीय छ ।
शाही स्नान अवधिमा सम्पूर्ण हिन्दू धर्मालम्बीहरूको तर्फबाट हामीलाई गरिएको अभिनन्दन र आर्शीवचनका लागि पनि हामी आभार ब्यक्त गर्दछाँै ।
हाम्रो भारत बसाइलाई सरल र सहज बनाउने ब्यबस्थाको लागि हामी भारतीय जनता र भारत सरकारप्रति पनि आभार ब्यक्त गर्न चाहान्छौँ ।
भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कदा बिभिन्न संघसंस्था तथा नेपाली जनसमुदायबाट दर्साइएको स्वागत सम्मानका निम्ति हामी सबै शुभ चिन्तक
दाजुभाइ दिदीबहिनीप्रति दिलैदेखि आभार प्रकट गर्दै धन्यबाद दिन चाहान्छौ । जय नेपाल ।
मिति : २०७८ बैशाख ६ गते ।