काठमाडौं । कोरोना भाइरस (कोभिड –१९)को दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड–१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ ।
२५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएको छ । तर, प्रदेश कोभिड अस्पतालले भने थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको डा. पौडेलको भनाइ छ ।
कोरोनाको दोस्रो लहरमा जटिल प्रकृतिका संक्रमितको संख्या वृद्धि हुँदै गएकाले थप समस्या सिर्जना हुन थालेको छ उहाँको भनाइ छ ।
वीरेन्द्रनगरमा झण्डै तीन लाख जनसंख्या छ । कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि प्रदेश सरकारले कोरोनाका सामान्य लक्षण नभएका संक्रमितलाई सम्बन्धित स्थानीय तहले नै उपचार गर्न निर्देशन दिएको छ ।