काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानका लागि विपक्षी दलहरूले प्रदेश प्रमुखलाई समावेदन गरेका छन् ।
आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर समावेदन गरेका हुन् । उनीहरूले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन माग गरेका हुन् ।
आज बिहान कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
तीनवटै पार्टीले यसअघि ६ वैशाखमा पनि अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमा छलफल हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो ।
उहाँ १९ वैशाखमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
उनको पक्षमा बहुमत नरहेको जनाउँदै विपक्षी पार्टीका ४० जना सांसदले आइतबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।