काठमाडौँ -पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको उहाँ उपचारत नर्भिक अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमण देखिएपछि उहाँ १८ दिनदेखि सो अस्पतालमा उपचारत हुनुहुन्छ ।
अस्पताल भर्ना भएको केही दिनपछि अस्पतालले पूर्वरानी कोमलको प्लाज्मा थेरापी विधिबाट उपचार गरेको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गर्दै उल्लेख गरेको छ ।
‘अब आफैं श्वासप्रश्वास गर्न सक्ने भएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ,’ अस्पतालले भनेको छ , ‘स्वास्थ्यमा दैनिक र क्रमिक सुधार भइरहेको छ ।’
यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको पनि अस्पतालले जनाएको छ । उहाँको दुई दिन पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्रलाई भने अहिले अक्सिजनको आवश्यकता नरहेको अस्पताल विज्ञप्तिमा उल्लेख छ ।