काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) पुनः एकता हुने संकेत देखिएको छ । आज अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेपछि यस्तो संकेत दिएका हुन् ।
उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् । जसपा तत्कालै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।
जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन अध्यक्षद्य ठाकुर र यादव सहमत भएका छन् । साथै, उनीहरुले सकेसम्म प्रतिपक्षमा नै रहेर भूमिका खेल्ने जानकारीसमेत गराएका छन् ।
“पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हामो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ,” वक्तव्यमा भनिएको छ ।
उनीहरुले पार्टीलाई एकताबद्ध बनाउने विषयमा ७ बुँदा अघि सारेका छन् ।
ती बुँदा यस्ता रहेका छन् :
१) जनता समाजवादी पार्टी, नेपाल संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, जातीय, वर्गीय, लैङ्गिक विभेद र असमानतालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवाद सहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ बैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्ति निर्माणको प्रकियामा रहेको छ ।
२) हालै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत प्राप्त गर्न राखेको प्रस्तावमाथि पार्टीको पदाधिकारीहरूको बैठकद्वारा सहमति गरी आपसी समझदारी कै आधारमा माननीय सांसदहरूलाई आ–आफ्नो स्वविवेक प्रयोग गर्दै प्रस्तावको विरुद्ध मत दिने वा तटस्थ बस्ने अवसर प्रदान गरिएको व्यहोरा सर्वविदितै छ। तर यस अवसरलाई दुरूपयोग गरी पार्टीका केही नेतृत्वहरूबाट नै गुट–उपगुट खडा गर्ने पार्टी भित्र गटबन्दी गरी अराजक कियाकलाप गर्दै आ–आफ्नो पक्ष खडा गरी सञ्चार माध्ययमहरूमा समेत दिइएका गैर–राजनीतिक, गैर–जिम्मेवार अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरू पार्टी एकता, अनुशासन, आचार संहीता एवम् पार्टी कार्यपद्धतीका प्रतिकुल रहेका छन् । यस प्रकारका कार्य, अभिव्यक्ति एवम् गतिविधिलाई तुरून्त बन्द गर्नु पर्दछ।
३) पार्टी भित्रका गतिविधिहरू पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरूप हुने गरी गरीनु पर्दछ ।
४) पार्टी सरकारमा सहभागि हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितंक एवम् अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हामो पार्टी सरकारमा सहभागि हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।
५) समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन-भ्रातृ संगठन लगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशिघ्र सम्पन्न गर्दै एकतावद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्न पर्दछ।
६) पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठन भित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समस्याहरूको समाधान गर्न पर्दछ ।
७) पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्धगर्नका लागि गुटवन्दी गर्ने, गुट–उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरूद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने कियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ ।
८) पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरू, शुभचिन्तक एवम् शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरिन्छ ।