काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) यतिवेला फुटको संघारमा छन् । अध्यक्षद्वय महन्थ ठाकुरले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने निर्ण गरेसँगै जसपा फुटको संघारमा पुगेको हो ।
यसैबीच, आज अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टी कार्यालय बालकुमारीमा यादवले बैठक बोलाउनुभएको हो ।
काठमाडौंमा उपलब्ध सदस्यको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिनुभयो ।
आजको बैठकमा अर्का अध्यक्ष ठाकुर पक्षका नेतालाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ ।
जसपाका अध्यक्ष यादवसँगै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले यसअघिनै नै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पस्टीकरण सोधिसकेका छन् ।
यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ ।
यसैबीच ठाकुर पक्षले भने वर्तमान सरकारमा जाने र आफ्ना मागहरु पूरा गराउने रणनीति अपनाएको छ । त्यसैले सरकारमा जाने विषयमा छलफल गर्न आज आफ्नो बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफूनिकट नेतासँग छलफल गरिरहनुभएको छ ।
ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेका छन् । जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ भने विघठित प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ ।