काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्ने बताएका बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले आत्माआलेचना गरेका छन् । आज बसेको बाग्मती प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आफ्नो भनाइ फिर्ता लिएको बताउँदै आत्मालोचना गरेका हुन् ।
सांसद् वैद्यले आफूले गलत मनसाय राखेर त्यस्तो अभिव्यक्ति नदिएको बरु आवेगमा आएर गलत शब्द बोलेको स्वीकार गरेका छन् । उनले ती शब्द फिर्ता लिएको पनि बताएका छन् ।
‘वास्तवमा सम्माननीय प्रधानमन्त्रीप्रति मेरो व्यक्तिगत रिसिइवी पनि होइन । म महात्मा गान्धीलाई सम्मान गर्ने र वचनले पनि कसैलाई हिंसा नहोस् भन्ने मान्छे हो’, उनले प्रदेशसभामा भने, ‘जुन किसिमबाट सत्ता बचाउनका लागि जुनसुकै हत्कण्डा अपनाएको देखिन्छ । त्यो कुराबाट म आवेशमा आएर भावावेशमा आएर आवश्यकताभन्दा अलिकति बढी बोले भन्ने लागेको छ ।’
प्रदेशसभाको बैठकमा सांसद वैद्यले आफूले बोलेको शब्द आपत्तिजनक र संसदको मर्यादाविपरित रहेको महसुस गर्दै फिर्ता लिएको र संसदको रेकर्डबाट समेत बटाउन आग्रहसमेत गरे ।
‘मैले मबाट प्रयोग भएका शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरित रहेको भनेर मेरो संसदीय दलले निर्देशन दिएको र म आफैले पनि गलत बोलेको अनुभूति भएका कारणले मैले बोलेको शब्द फिर्ता लिएर संसदको रेकर्डबाट समेत हटाउनका लागि आग्रह गर्दछु’, उनले स्पष्ट पारेका छन् ।
बैद्यले शुक्रबार प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सत्ता बचाउन अनेक किसीमका राष्ट्रघाती संझौता गरेकाले महात्मा गान्धीलाई गोड्सेले हत्या गरेजस्तै हत्या गर्ने मानिस चाहिएको अभिव्यक्ति दिएका थिए । त्यस्तो मानिस नभेटिए आफैं अघि सर्ने उनको आशय थियो ।
बैद्यको यो अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ । स्वयम् कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि उनले माफी माग्नुपर्ने बताएका थिए ।