काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ । जसपा अध्यक्ष यादवले भोली बस्नेगरी कार्यकारिणी समितिको बैठक बोलाउनु भएको हो ।
बैठकका लागि सवैलाई निमन्त्रणा गरिएको यादव पक्षका नेताहरुले जानकारी दिएका छन् । जसपाको महन्त ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरु एकातिर हुनुहुन्छ भने यादवसँगै बाबुराम भट्टराई लगायतका नेताहरु अर्को पक्षमा लाग्नु भएको छ ।
अध्यक्ष यादवले पार्टी भित्र देखिएको विवादका बारे निर्वाचन आयोगले कुनै निर्णय नदिएपछि कानुनी तथा राजनीतिक लडाइको तयारीका विषयमा रणनीति बनाउन कार्यकारिणी समितिको बैठक बोलाएको बताउनु भएको छ ।
अध्यक्ष यादवले केही समयअघि जसपाका अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरुलाई कारवाही गरी सो बारेको विवरण अद्यावधिक गर्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाउनु भएको थियो ।
यसैगरी ठाकुर पक्षले पनि यादवसहितलाई कारवाही गर्दै विवरण अद्यावधिक गरिदिन आयोगलाई गुहारेको थियो । तर आयोगले भने दुबै समूहको पत्रलाई अस्वीकार गरिदिएको छ ।
त्यसपछि यादव पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकता दाबी गर्दै निर्वाचन आयोग जाने तयारीमा छ ।
यो दफा अनुसार यादव पक्ष अव दलको वैधानिकता विवाद् सम्वन्धी विषयलाई अघि बढाएर आयोग जाने पक्षमा छ । बैठकमा ठाकुर पक्ष सहभागी हुने संभावना भने कम रहेको बताइएको छ ।