एजेन्सी– अमेरिकालगायत नेटोमा आवद्ध सेनाले अफगानिस्तान छाड्न थालेसँगै विद्रोही समूह तालिवानले विभिन्न क्षेत्रमा आक्रमणको श्रृंखला बढाएको छ ।
तालिवानले अफगान नागरिकलाई चेतावनीपूर्ण भाषामा अब त्यहाँका नागकिकले के गर्न हुन्छ र हुँदैन भनेर आदेश दिएको छ ।
‘महिला कुनै पनि पुरुषसँग बजार जान पाउनेछैनन् । पुरुषले दाह्री काट्न पाउने छैनन् र धुम्रपान गर्न पाउने छैनन्’, बिबिसीका अनुसार तालिवानले दिएको आदेशमा भनिएको छ ।
आफ्नो आदेश पालना नगरेको पाइएमा त्यस्ता व्यक्तिलाई तालिवानले कारवाही गर्ने चेतावनी दिइएको छ ।
तालिवानले आफूले कब्जा गरेको क्षेत्र अफगान सरकारले नियन्त्रण गरेको क्षेत्रभन्दा ठूलो भएको र सरकारकोभन्दा आफ्नो बढी संसाधन भएको दाबी गरेको छ ।
यसैबीच तालिवानले पाकिस्तानसँगको सीमानजिक रहेको क्षेत्र कब्जा गरेको छ र त्यहाँ आफ्नो झण्डा फहराएको छ ।
अमेरिकालगायत नेटोमा आवद्ध सेनाले आफ्नो देश छाड्न थालेसँगै विद्रोही समूह तालिवान अफगानिस्तानमा बलियो भएको हो । तालिवान पहिलेभन्दा सक्रिय भएसँगै उसले विभिन्न स्थान कब्जा गर्न थालिसकेको छ ।