काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेजस्तो अपराध शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारलाई गर्न छुट नभएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शून्य समयमा बोल्दै सांसद थापाले नयाँ सरकारलाई कुनै पनि अपराध गर्ने छुट नहुने र यस्तो हुन नदिन संसद्ले पनि संकल्प गर्नुपर्ने धारणा राख्नुभयो ।
’संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्', उहाँले भन्नुभयो ।
सो अवसरमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थापाले ओली नेतृत्वको सरकारका विभिन्न गैरजिम्मेवारी काम गरेको दाबीसमेत गर्नुभयो ।
‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने’, उहाँले गैरकानुनी कामका फेहरिस्त पेश गर्दै भन्नुभयो, ‘यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ, अघिल्लो सरकार ।’
प्रधानमन्त्रीबाट हटेपछि ओलीले बालकोटस्थित निवासको बार्दलीमा बसेर भाषण गर्नुभएको थियो । थापाको अभिव्यक्ति त्यतैतिर लक्षित थियो ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले ओलीका गैरकानुनी काम वर्तमान् सरकारले नदोर्याओस् भनेर सांसदलगायत सबैजना सचेत रहनुपर्ने र खबरदारी गरिहनुपर्ने बताउनुभयो ।