काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनसम्मै सत्तारुढ गठबन्धन नतोड्ने सहमति भएको दाबी गर्नुभएको छ ।
हिजो बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा आगामी चुनावसम्म गठबन्धन टुट्न नदिने संकल्प लिइएको उहाँले बताउनुभयो ।
काभ्रेको पाँचखालमा वाइसिएलको भेलालाई सम्बोधन गर्दै प्रचण्डले तानाशाहलाई बालुवाटारबाट बालकोट सारिए पनि गठबन्धन तोड्न अनेक षडयन्त्र भइरहेको बताउनुभयो ।
एमसीसीका नाममा विवाद श्रृजना गरेर गठबन्धन भत्काउने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले अहिले एमसीसी भन्दा गठबन्धन ठूलो भएको निष्कर्ष आफूहरुले निकालेको पनि बताउनुभयो ।
जस्तोसुकै मूल्य चुकाउन परेपनि तयार हुने तर गठबन्धन गरेरै चुनावमा जाने सहमति सत्ता गठबन्धनमा बनेको प्रचण्डले दाबी गर्नुभयो ।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ढाइ महिनासम्म मन्त्रिमण्डल बनाउन नसक्नेहरुको गठबन्धन बलियो नरहेको जवाफ फर्काउनुभयो ।
सरकारलाई पूर्णता दिन नसक्ने गठबन्धनका नेताहरुले एमालेसँग धाक लगाउन नसुहाउने उहाँले बताउनुभयो ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले पाँच दलीय सत्तारुढ गठबन्धनलाई ‘पञ्चेगुट’को संज्ञा दिँदै एमालेसँग लड्ने भए एकताबद्ध भएर आउन सुझाव दिनुभयो ।
तर प्रचण्डले भने एमाले र कांग्रेसलाई २०६४ सालकै जस्तो गरेर पाखा लगाउँदै माओवादी केन्द्र विजयी हुने दाबी गर्नुभयो ।
सुरुमा गठबन्धन गरेरै चुनाव लड्ने संकल्प गरेको बताउनुभएका प्रचण्डले पछि आउने चुनावमा कांग्रेस एमालेहरुलाई २०६४ सालकै जस्तो गरी लखेट्ने चेतावनी दिनुभयो ।
वाइसिएल भेलालाई सम्बोधन गदै प्रचण्डले शान्तिपूर्ण भन्दै अर्को पक्षलाई लेखेट्नुपर्ने र त्यसका लागि तयार रहन निर्देशन दिनुभयो ।
२०६४ को चुनावमा गर्नुपर्ने र गर्न नहुने सबै गरेका कारण जितिएको बताउँदै प्रचण्डले अब पनि त्यस्तै गर्न निर्देशन दिनुभयो ।
‘बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ । हामीले त्यो बेला कति गरेका थियौँ तपाईँहरुले कति गर्नुभयो २०६४ मा । सम्झनुस् त ६४’, प्रचण्डले भन्नुभयो, ‘गर्नुपर्ने पनि गरियो, नगर्नु पनि गरियो र पो जितियो।’
नेकपा एकता भंग भएसँगै मुलुकको राजनीतिले लय समात्न सकेको छैन । संसदले आप्नो काम गर्न सकिरहेको छैन भने सरकारले समेत पूर्णता नपाउने देशले रफ्तार लिन सकेको छैन ।
दलका शीर्ष नेताहरुका अभिव्यक्ति भने आगामी चुनावको तयारी जस्तो सुनिन थालेका छन् ।