काठमाडौँ – एमसीसीबारे दुईजिब्रे कुरा गरेको आशयसहित जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् ।
उनले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने बताएका छन् ।
चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउने बाबुरामको भनाइ छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्छौँ भनेर आफू र प्रचण्डले अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।
तर प्रधानमन्त्रीको उक्त खुलासाको आज खण्डन गर्दै प्रचण्डले एमसीसी पास गर्छौँ भनेर पत्रमा उल्लेख नगरिएको जिकिर गरेका छन् ।
यद्यपि एमसीसीबारे सहज वातावरण श्रृजना गर्ने र राजनीतिक दलबीच सहमति जुटाउनका लागि समय चाहिने पत्र अमेरिकालाई पठाइएको प्रचण्डले स्वीकार गरेका छन् ।
प्रचण्डले आफूले एमसीसी पास गर्ने पत्र नलेखेको स्पष्ट पारेको समाचार ट्विटरमा शेयर गर्दै भट्टराईले भनेका छन्, ‘जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ गर्दैन । मुख्य कुरो कुनै पनि विषय देश र जनताको हितमा छ कि छैन भन्ने हो । यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउँछ । चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउँछ ।’ भट्टराई एमसीसी नेपालको हितमा रहेकोले पास गर्नुपर्ने पक्षमा छन् ।