काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद समाधानको दिशामा अघि बढेको नेताहरुले बताएका छन् । आज दिउँसो नेताहरु झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङसहित बसेको बैठकमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समाधानका लागि निकास दिने सहमति भएको बताइएको छ । तर बैठकमा के सहमति भयो भन्नेबारे सार्वजनिक गरिएको छैन ।
बैठकमा सहभागी नेता सुवासचन्द्र नेम्वाङले दुई अध्यक्षबीच हार्दिकतापूर्वक छलफल भएको र विवाद करिब करिब टुंगिने दिशामा पुगेको बताउनुभयो । भोलि बिहान ९ बजे फेरि बस्ने दुई अध्यक्षको बैठकले पार्टीमा देखिएका पछिल्ला विवादलाई हल गर्नेमा आफू निकै आशावादी रहेको उहाँले बताउनुभयो।
पछिल्लो पटक पार्टीको स्थायी कमिटि बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन । तर पार्टीका विभिन्न तह र तप्काको लगातार सक्रियतामा आज भएको ओली दाहालको छलफल अत्यन्त सकारात्मक रहेको नेता नेम्वाङले बताउनुभयो । उहाँले भोलि बिहान ९ बजे जेरी खाँदै विवाद टुंगिने दाबी गरेका समाचारहरु पनि सार्वजनिक भएका छन् । तर विवाद समाधानको सुत्रबारे भने नेम्वाङले बताउन चाहनुभएन ।
बालुवाटारमा आज झण्डै तीन घण्टा चलेको बैठकले विवाद समाधानका उपायहरुबारे सहमति गरेको बताइए पनि पार्टीको माधव नेपाल पक्षले भने कुनै सहमति नभएको दाबी गरेको छ । नाम नबताउने सर्तमा माधव नेपाल निकट एक नेताले बालुवाटारको छलफलमा कुनै किसिमको सहमति नभएको जिकिर गर्नुभयो ।
उहाँले सहमति भैसकेको प्रचारबाजी गरेर बालुवाटारबाटै एकपटक फेरि तथ्यहिन प्रचार गरिएको जिकिर गर्नुभयो । यता आज दिउँसो बालुवाटारमा भएको सहमति बारे पार्टीका दुवै समूहले आन्तरिक छलफल चलाएका छन् । दुई अध्यक्षसहित चार नेता सहभागी बैठकले पार्टीको विवादबारे अघि बढाइएका सहमतिका संभावित बुँदाबारे निकट नेताहरुसँग छलफल चलाएका हुन् ।
प्रधानमन्त्री समेत रहनुभएका केपी ओलीले बालुवाटारमै निकट नेताहरु बोलाएर छलफल तथा परामर्श गरिरहनुभएको छ भने प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा नेताहरुको भेला गरेर बालवाटार छलफलबारे समीक्षा गरिरहनुभएको छ ।