काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले अब आफूसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताउनुभएको । महामन्त्री पदमा विजयी भएलगत्तै पार्टी मुख्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद दिनुभयो ।
उहाँले आफूलाई मत नदिएका १६०० मतदाताको पनि विश्वास जित्नेगरी काम गर्ने बताउनुभयो । उहाँले अब पार्टीलाई देखिने, सुनिने, बुझिने बनाउनुपर्ने खाँचो औंल्याउनुभयो ।
‘इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछु । मैले साथीहरुलाई एक दिन पनि गलत मान्छे छानेछु भन्ने दिन आउन दिन्नँ भनेको छु । म सिंगो पार्टीको महामन्त्री बन्छु’, गगनले भन्नुभयो ।
आफूसहितका पदाधिकारीले सभापतिलाई बल पुग्नेगरी, तागत पुर्याउने गरी काम गर्ने पनि उहाँले प्रस्ट पार्नुभयो ।
निर्वाचनमार्फत नेतृत्व चयन भएका कारण कतिपयको मनमा घाउ भएको, साथीहरुको मनमा चोट लागेको भन्दै उहाँले साथीहरुको दूरी, घाउलाई कम गर्ने दिशामा पनि आफूले काम गर्ने बताउनुभयो । पार्टीमा नजोडिएका साथीलाई पनि पार्टीमा जोड्न आफूले काम गर्ने उहाँको भनाइ छ ।