काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)का ’सम्मानित नेता’ तथा विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाउनुभएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आज एक वक्तव्य जारी गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरिरहेको भन्ने भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति आफ्नो र पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
’भारत सरकारलाई राम्रोसँग थाहा छ कि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र (भूमी) हुन्,’ ’नेपाल सरकारसँग कुनै परामर्श नै नगरी उक्त क्षेत्रमा कुनै पनि विकास निर्माणका काम गर्नु पूर्ण रुपमा गैरकानूनी तथा क्षेत्रीय अखण्डता र राष्ट्रिय सार्वभौमिकताको उल्लंघन हो,’ खनालले आफ्नो वक्तव्यमा भन्नुभएको छ ।
नेता खनालले सीमा क्षेत्रमा आफ्नो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
खनालले भन्नुभएको छ, ’हाम्रो भूमिको अखण्ता हनन गरेर भइरहेको सडक निर्माण र भारतीय नेताको भड्काउपूर्ण अभिव्यक्तिको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । सीमा क्षेत्रमा हाम्रो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’
नेपालसँग सीमा जोडिएको राज्य उत्तराखण्डको हल्द्वानीमा केही दिन अघि आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले लिपुलेकमा एउटा सडक बनाएको र हाल उक्त सडक विस्तार गर्ने काम चलिरहेको बताएका थिए ।
उनको अभिव्यक्तिको विषयमा नेपाल सरकारले भने कुनै धारणा सार्वजनिक गरेको छैन ।
हेर्नुहोस् विज्ञप्ति
