Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खोप लगाएका अधिकांश नयाँ कोरोना संक्रमित अस्पताल भर्ना

खोप लगाएका अधिकांश नयाँ कोरोना संक्रमित अस्पताल भर्ना

  • बिहिवार, पौष २९ २०७८

  • 969
    SHARES

  • खोप लगाएका अधिकांश नयाँ कोरोना संक्रमित अस्पताल भर्ना

    काठमाडौं – डेढ हप्तायता काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश खोप लगाएका रहेको पाइएको छ ।

    कोभिड–१९ केन्द्रीय अस्पतालमा उपचाररत ४१ जना संक्रमितमध्ये २५ जना खोप लगाएका छन् । अस्पतालका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठले अहिले भर्ना भएकाहरूमा धेरै बिरामीहरू खोप लगाएको रहेको जानकारी दिए ।

    ’डेढ हप्ता अगाडि जम्मा ८ जना बिरामी हुनुहुन्थ्यो। अहिले ४१ जना भर्ना हुनुभएको छ,’ श्रेष्ठले सेतोपाटीसँग भने, ’४१ जनामध्ये २५ जनाले खोप लगाएका छन्। त्यसमध्ये ८ जनाले पूरा डोज खोप लगाएका छन् ।’

    बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पनि अहिले ६० जना संक्रमित उपचाररत छन्। जसमध्ये ८५ प्रतिशत संक्रमित खोप लगाएको रहेको अस्पतालका प्रवक्ता डाक्टर प्रविन नेपालले जानकारी दिए । अर्थात् ६१ जना बिरामीमध्ये ५१ जना त खोप लगाएका छन् ।

    ’८५ प्रतिशत बिरामी खोप लगाएका छन्। तर खोप लगाएकाले पनि होला अधिकांशमा लक्षण कम छन्,’ उनले भने ।

    महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पनि २५ जना बिरामी भर्ना भएको धेरै खोप लगाएका छन्। अहिले सबै विवरण लिइनसकिएको भन्दै अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले भर्ना भएकाहरूमा धेरै जना खोप लगाएकै रहेको जानकारी दिए ।

    यसरी खोप लगाएकाहरूसमेत धमाधम संक्रमण भएर अस्पताल भर्ना हुने क्रमले थप सचेत हुनुपर्ने देखिएको छ ।

    भाइरोलोजिष्ट डाक्टर विष्णु उपाध्याय खोपले शतप्रतिशत संक्रमण नरोक्न भन्दै थप सतर्क रहनुपर्ने बताउँछन् ।

    ’खोप लगाइसकेपछि पनि संक्रमण हुने गर्छ । कतिलाई लक्षण देखिने भएकाले परीक्षण गराउँछन् र थाहा हुन्छ। तर धेरैलाई लक्षण नदेखिनसक्छ र त्यस्ता व्यक्तिले झन् छिटो संक्रमण सार्न सक्छन्,’ उनले भने ।

    यद्यपि खोप लगाएका व्यक्तिलाई संक्रमण हुने देखिए पनि जटिलता हुने सम्भावन कम रहने उपाध्याय बताउँछन् ।

    उनले पछिल्लो ओमिक्रोन भेरियन्टलाई लिएर उक्त भेरियन्ट अघिल्लो डेल्टाभन्दा छिटो फैलिने भए पनि कम घातक रहेको जनाए ।

    ’अहिलेसम्म भएका अध्ययनहरूले ओमिक्रोनको सर्ने दर अत्यधिक छ तर जटिलता न्यून छ,’ उनले भने ।

    हुन पनि अस्पतालहरूमा भर्ना भएका नयाँ बिरामीहरूको अवस्थाले पनि सो कुरा देखाउँछ।

    कोभिड–१९ केन्द्रीय अस्पतालमा भर्ना भएका ४१ जनामध्ये जम्मा ६ जना आइसियूमा छन्। अस्पतालका उपनिर्देशक डा. श्रेष्ठ भन्छन्, ’भर्ना भएका बिरामीहरूमा जटिलता कम छ। ४१ जनामध्ये जम्मा ६ जना आइसियूमा छन् । जबकि दोस्रो लहरमा ४१ जना भर्ना हुँदा ३५ देखि ४० जना सम्मलाई आइसियूमा भर्ना गर्नुपर्ने हुन्थ्यो।’

    उनले अस्पतालमा परीक्षण गर्न आउनेहरूको हिसाबले पनि भर्ना हुन आउने बिरामीको संख्या निकै कम रहेको बताए । अस्पतालको प्रयोगशालामा दैनिक दुई सय बढी मानिस पिसिआर परीक्षण गराउन आउने भए पनि भर्ना हुन आउने बिरामी कम रहेको श्रेष्ठ बताउँछन् ।

    ’अहिले दैनिक दुई सय बढीको परीक्षण भइरहेको छ तर हिजो दिनभरिमा जम्मा एक जना बिरामी भर्ना हुनुभएको छ,’ उनले भने ।

    श्रेष्ठले वार्डमा भर्ना भएका बिरामीहरू पनि सामान्य लक्षण लिएर आएको बताए। उनले भर्ना भएका बिरामीहरूमा ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी, जिउ दुख्ने जस्ता सामान्य लक्षण देखिएको जनाए ।

    सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डाक्टर प्रवीन नेपाल पनि आफ्नो अस्पतालमा भर्ना भएका बिरामीहरूमा जटिलता कम देखिएको बताउँछन् । अघिल्लो लहरका बिरामी हेरेर यसपालिका बिरामीहरूमा जटिलता आधा कम देखिएको भन्दै उनले भने, ’अहिले ६० जना बिरामी छन्।

    पहिलेको हिसाबमा कम्तीमा ३० देखि ३५ जना बिरामीलाई अक्सिजन चाहिनुपर्ने हो तर जम्मा ८ जना अक्सिजन चाहिने बिरामी छन्। जुन पहिलेको तुलनामा आधाभन्दा कम हो ।’

    तर खोप लगाएका व्यक्तिहरू धेरै संक्रमित हुन थालेपछि अब सरकारले बुस्टर डोज दिने तर्फ पनि सोच्नुपर्ने भाइरोलोजिष्ट डा. उपाध्याय बताउँछन् ।

    बुस्टर डोजले शरीरमा अघिल्लो खोपका कारण रहेको एन्टिबडीलाई थप बढाउने र सक्रिय बनाउने भन्दै सरकारले सबै कुरा मिलाएर बुस्टर डोज दिनुपर्ने उनको भनाइ छ ।

    तर अझै ६० प्रतिशत बढी नागरिकलाई दोस्रो डोज दिन नसकेको सरकारले बुस्टर डोज दिनेबारे ठोस कदम चालेको छैन। यद्यपि माघ पहिलो सातादेखि भने फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई भने बुस्टर डोज दिने भनिएको छ ।


    बिहिवार, पौष २९ २०७८०१:५३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij