काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपाल कैलालीले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको हो । साथै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडिसमेत नाराबाजी गरेका छन् ।
मोटरसाइकल र स्कुटर डोर्याएर धनगढी बजार क्षेत्रमा सरकारविरुद्ध नाराबाजीसहित प्रर्दशनमा उत्रिएका हुन् । सरकारले मंगलबारदेखि इन्धनमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनीसमेत दिएका छन् ।
नेपाल आयल निगमले माघ १८ गते मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको थियो । मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर १२५ तथा पेट्रोल प्रतिलिटर १४२ पुगेको छ ।
आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरेको छ ।