काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले ९ महिनाअघि आफूहरूले छाडेको सबल र सुदृढ अर्थतन्त्रलाई गठबन्धन सरकारले तहसनहस बनाएको आरोप लगाएको छ ।
एमालेका तीनजा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आज पत्रकार सम्मेलन गरी ९ महिनामै अर्थतन्त्र तहसनहस बनाइएको र प्रतिस्थापन बजेटमार्फत विकासका कामसमेत अवरुद्ध पारिएको आरोप लगाएका हुन् ।
एमालेले आफूहरूले छाड्दा र अहिलेको अर्थतन्त्रका सूचकहरू समेत सार्वजनिक गर्दै सबै क्षेत्र नकारात्मक रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले विदेशी मुद्रा सञ्चिती ऋणात्मक हुन लागेका बेला सरकारले तस्करी प्रयोजनका लागि विभिन्न सामान आयात खुलाएको आरोप लगाउनुभयो ।
यस्तै एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिनुभएको छ । सरकारले गलत अभ्यास गरेको भन्दै यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।
उहाँले अब मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको औँल्याउनुभएको छ । यसो नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले बचाउन नसक्ने एमालेको उहाँको भनाइ छ ।
यता पुर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारका मन्त्रीहरू अर्थतन्त्र जोगाउने भन्दा कमाउ धन्दामा लिप्त रहेको आरोप लगाउनुभएको छ । यही हर्कतका कारण अर्थतन्त्र यो अवस्थामा आएको उहाँको तर्क छ । नीजि क्षेत्रले व्यावसायिक समस्या राख्ने ठाउँ समेत नपाएको उहाँले दाबी गर्नुभयो ।
उहाँले गठबन्धन सरकारका कारण प्रदेशमा पनि विकास ठप्प भएको आरोप लगाउनुभयो । अहिले मन्त्रालय फुटाउने र भएको बजेट सरकार र मन्त्रीलाई सुविधा दिनमै केन्द्रित रहेको उहाँले दाबी गर्नुभयो ।
अहिलेको सरकारका कारण मूल्यवृद्धि अघिल्लो सरकारको बेलामाभन्दा दोब्बर भएको, जथाभावी मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम भइरहेको, वैदेशिक व्यापारघाटा देशले धान्नै नसक्नेगरी आकासिएको लगायत आरोप एमालेका नेताहरुले लगाएका छन्।
यस्तो छ पूर्णपाठ: