काठमाडौँ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ४३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ९८६ नमुनाको पीसीआर परीक्षण गर्दा ६ र दुई हजार ५७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।
पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।
२४ घण्टामा ३० हजार ८८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।