काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । मंगलवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कुनै पनि हालतमा गठबन्धन टुट्न नहुने बताएका हुन् ।
अहिलेको निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले कसै न कसैसँग मिल्नुपर्ने उनले बताए । उनले गठबन्धन भएपछि ‘गिभ एण्ड टेक’ हुने बताए ।
स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्वमा संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरा स्मरण गराए ।
देउवाले गठबन्धन नगरि चुनाव लडेमा पहिलेको जस्तै हालत हुने भएकाले गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गरे ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मादेखि महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेका बेला देउवाले भने, 'हामी संसदीय चुनावमा हारेको हो । अहिले गठबन्धनले धेरै ठाउँमा हाम्रो सरकार छ । धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के बिगारेँ मैले ? मैले कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने मैले गल्ती गरेको भन्नुपर्छ । धन्यवाद र बधाई दिनुपर्नेमा !'